काठमाडौं। कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट प्रबल जनसेवाश्री चतुर्थ श्रेणी पदक पाइन्। शुक्रबार शीतल निवासमा पौडेलले ८ हजार मिटरभन्दा माथिका तीनवटा हिमाल आरोहण गरेकी श्रेष्ठलाई प्रबल जनसेवाश्री चतुर्थ श्रेणी पदक दिए।
छोरीले राष्ट्रपतिबाट पाएको उक्त पदक हेर्न उनका बुवा पनि गोरखाबाट काठमाडौं आए। तर, जब छोरीसँगै शीतलनिवास छिर्न खोजे उनलाई सुरक्षाकर्मीले गेटबाट छिर्न दिएनन्। गोरखाको आरुघाटबाट काठमाडौं आएका उनका बुवा शीतलनिवास र राष्ट्रपतिलाई नजिकबाट हेर्न चाहन्थे। तर, उनको धोको अधुरै रह्यो। सुरक्षाकर्मीले फिर्ता पठाएपछि उनी निराश मुद्रामा घर फर्किए भने छोरी मन अमिलो बनाउँदै पदक थाप्न गइन्।
‘बुबालाई राष्ट्रपति र राष्ट्रपति भवन हेर्न निकै ठूलो इच्छा थियो। यसैको लागि भनेर आरुघाट, गोरखाबाट आउनुभयो तर मसँगै जानुभएको बुबालाई गेटबाट भित्र जान दिइएन र निराश हुँदै फर्किनुभयो। यता पुरस्कार पाउँदा पनि मेरो मन भने अमिलो थियो,’ श्रेष्ठले सामाजिक सञ्जालमा भनेकी छन्।












