भरतपुर । आँपटारीस्थित योगी नरहरिनाथ आश्रम वागीश्वरीमा जारी कोटिहोम महायज्ञ अन्तर्गत विभिन्न प्रतियोगिता पनि भइरहेका छन् ।
भजन प्रतियोगिता, कविता प्रतियोगिता, गन्धर्व प्रतियोगिता भएको महायज्ञमा यहि जेठ २५ गते ‘फेरी लगाउने’ प्रतियोगिता हुँदैछ । भजन प्रतियोगिताको फाइनल जेठ ३० गते हुनेछ ।
नेपालको परम्परागत संस्कृतिमा फेरी लगाउने चलन पुरानो धार्मिक तथा सांस्कृतिक अभ्यास हो । फेरी लगाएमा घरमा भूतप्रेत, नकारात्मक शक्ति, र दुष्ट आत्मा प्रवेश गर्दैनन् भन्ने धार्मिक विश्वास छ । घरपरिवारमा सुख, शान्ति छाउने र अन्नबाली सप्रिने मान्यता रहिआएको छ ।
जोगीहरू मध्यरात वा बिहानको समयमा घरको चारैतिर घुमेर मन्त्रोच्चारण गर्ने र बराठ (जनावर) को सिङ वा शङ्ख बजाउने गर्छन् । त्यसको भोलिपल्ट बिहान उनीहरूलाई घरबाट अन्न (चामल, नुन आदि) वा भेटी दान दिने चलन थियो । यस्तो चलन अहिले हराइसकेको छ ।
शनिबार भएको गन्धर्व प्रतियोगितामा भेषराज रसाइली प्रथम भए । प्रतियोगितामा दोस्रो दिपक विश्वकर्मा भए भने तृतीय समिर गन्धर्व भए । हेमराज गन्धर्व, विराज गन्धर्व र रिसुक गन्धर्व सान्त्वना भए ।
महायज्ञमा अहिले बिजमन्त्रद्वारा नियमित हवन गर्नुका साथै अतिरुद्री महायज्ञ, गायत्री लक्ष हवन र सहस्र चण्डी पनि भइरहेको छ । गत वैशाख १७ गतेदेखि सुरू भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ आगामी असार १३ गते सम्पन्न हुनेछ ।
महायज्ञमा आगामी असार ६ गते नौ वर्ष मुनिका एक हजार आठ बालिकाको सामुहिक पुजन गरिँदै छ । सामुहिक पुजनका लागि नौ वर्ष मुनिका बालिका र अभिभावकको नाम टिपाउने आयोजकले आग्रह गरेको छ । असार ८ गते पाँचसरे सवा करोड दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको महायज्ञ संयोजक एवम् मुख्यकर्ता प्रेमनिधि भारद्वाजले जानकारी दिए ।











