चितवन । त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक डा महानन्द चालिसेले विश्वविद्यालयमा सुधारको लागि डोजर लगाउनुपर्ने अवस्था आएको बताएका छन् ।
सप्तगण्डकी बहुमुखी क्याम्पसमा आजबाट सुरु भएको प्राज्ञिक अनुसन्धानसम्बन्धी तीन दिने राष्ट्रिय सम्मेलनमा मन्तव्य राख्दै विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सजिलो नभएको भन्दै डोजर लाउनुपर्ने अवस्था आएको बताएका हुन् ।
सम्मेलनमा डा चालिसेले भने, ‘यो भाषा प्रयोग गर्ने कि नगर्ने, विश्वविद्यालयमा सुधारको लागि डोजर लगाउनुपर्ने अवस्था आएको छ । समस्या नै समस्या भएकोले निमित्त भए पनि हामी सक्रियरुपले लागिरहेका छौं ।’
डा चालिसेले विश्वविद्यालयमा राजनीतिकरण र दलीयकरणले धेरै समस्या सिर्जना गरेको दाबी गरे । उनले भने, ‘अझै पनि जग्गाको कुरा देखि प्रशासनिक र पूर्वपदाधिकारीका समयदेखिको समस्याहरु छन् । प्राध्यापकहरुसँग पनि धेरै समस्याहरु रहेका छन् ।’
डा चालिसेले विकासको लागि राजनीति त चाहिन्छ तर नैतिकता भएको राजनीतिज्ञ हुन जरुरी रहेको विचार राखे । उनले भने, ‘राजनीति नैतिकताको हुनुपर्छ । चीनले गरेको आर्थिक रुपान्तरण र विकास शिक्षाकै कारणले हो । शिक्षाको अनुसन्धान र खोजको कारणले आएको थियो । राजनीतिक व्यक्तित्वमा सुधारको प्रतिबद्धता चाहिन्छ । उनीहरुले कम्युनिस्ट शिक्षा विधि भन्दा पनि पश्चिमा शिक्षण विधिको प्रयोग गरे ।’ उनले हामीले पाढ्यक्रमलाई बजार, श्रम र उत्पादनसँग कहाँ तिर जोड्यौ भनेर प्रश्न पनि गरे ।
त्यसैगरी सम्मेलनको उद्घाटन शत्रमा व्यवस्थापन संकायका पूर्व डीन प्राध्यापक डा डिल्लीराज शर्माले अहिले शैक्षिक क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न राज्यले ध्यान दिनुपर्ने विचार राखे । उनले भने, ‘ शिक्षा, स्वास्थ्यको ग्यारेन्टी राज्यले गर्नुपर्छ । देशमा उद्योगधन्दा र व्यापारको विकास भएन भने हामीले जति कमाउँदै पढ्दै जस्ता कार्यक्रम ल्याए पनि केही गर्न सकिँदैन । उद्योग क्षेत्रमा लगानी हुनुपर्छ, रोजगारी बढ्नुपर्छ ।’
डा शर्माले समस्याको जड अर्थतन्त्र भएको दाबी गरे। उनले भने, ‘आर्थिक विकास भएन भने शिक्षा क्षेत्रमा केही गर्न सकिँदैन । रोजगारी सिर्जना र आर्थिक विकासमा राज्यका संयन्त्रहरुको समन्वय हुनुपर्छ । विद्यार्थीहरुलाई रोजगारी कहाँ दिने ? राज्य संवेदनशील बन्नुपर्छ । उहाँले अहिलेको शिक्षाले विद्यार्थीको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्ने विचार राख्नुभयो । उनले भने, ‘अहिले देशमा नैतिकताको खडेरी छ, नैतिक मूल्य, मान्यताहरु कमजोर भएका छन् । अहिलेको शिक्षाले विद्यार्थीको सिप, ज्ञान र बानी व्यवहारमा पनि रुपान्तरण ल्याउनुपर्छ ।’
त्यसैगरी सम्मेलनमा बीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राडा प्रेमसागर भण्डारीले यसप्रकारको महत्वपूर्ण सम्मेलन गरेकोमा सप्तगण्डकी बहुमुखी क्याम्पसलाई धन्यवाद दिए ।
कार्यक्रममा अध्यक्षता गरेका सप्तगण्डकी बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष डा रामचन्द्र अधिकारीले क्याम्पसले गरेको राष्ट्रिय सम्मेलनलाई कर्मकाण्डी हुन नदिने बताए । उनले भने, ‘ हाम्रो सम्मेलन कर्मकाण्डी हुँदैन । क्याम्पसले यस्ता अनुसन्धानमूलक सम्मेलनहरु राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय पनि गर्ने छौं ।’
कार्यक्रममा सम्मेलन आयोजक समितिको संयोजक प्राडा कपिलदेव सुवेदीले सम्मेलनको उद्देश्य, मोडल र आवश्यकताबारे स्पष्ट पारे । क्याम्पस प्रमुख खिमलाल दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रममा सम्मेलन आयोजक समितिका उपसंयोजक बसन्तराज लामिछानेले कार्यक्रममा सहभागी प्रमुख अतिथि र अतिथिहरुलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा चर्चित कवि भूपिन र रामपुर कृषि क्याम्पसकी प्राध्यापक डा रमा पौडेलले वातावरण दिवसको अवसरमा कविता वाचन गरे ।
सम्मेलनको पहिलो दिन आज शुक्रबार अनुसन्धानसम्बन्धी १४ वटा पेपर प्रस्तुति गरेर त्यसमाथि छलफल भयो । आजको सेसनमा काठमाडौँ विश्वविद्यालयका एशोसिएट प्राध्यापक डा गजेन्द्र शर्माले प्रविधिमा आधारित अनुसन्धानमूलक शिक्षण प्रविधिको बारेमा आफ्नो प्रस्तुति दिए । अब भोलि शनिबार र पर्सी आइतबार गरेर बाँकी ४४ वटा अनुसन्धान प्रतिवेदनमा छलफल हुनेछ । भोलि प्राध्यापक डा विद्यानाथ कोइराला र काठमाडौ विश्विद्यालय स्कुल अफ एजुकेशनका डिन डा विनोदप्रसाद पन्तले आफ्नो अनुसन्धानमूलक प्रस्तुतिहरु दिनेछन् ।
सम्मेलनले शिक्षाविद्, अनुसन्धानकर्ता, नीतिनिर्माता, व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूलाई एक साझा मञ्च प्रदान गर्ने अपेक्षा क्याम्पसको छ । सम्मेलनको मूल उद्देश्य दिगोपना, रूपान्तरणकारी शिक्षा, दिगो व्यवस्थापन तथा प्रविधिमा आधारित नविन अभ्यासहरूका विषयमा विद्वान्, अभ्यासकर्ता अनुसन्धानकर्ता तथा विद्यार्थीहरूबीच ज्ञान, अनुभव र अनुसन्धानका निष्कर्षहरूको आदान–प्रदान गराउनु रहेको छ ।
यस सम्मेलनका प्रमुख आकर्षणहरूमा विज्ञ वक्तव्य, आमन्त्रित प्रवचन, प्यानल छलफल, शोधपत्र प्रस्तुति, व्यवहारिक कार्यशाला तथा पोस्टर प्रस्तुति रहेका छन् । सम्मेलनले उच्च शिक्षामा अनुसन्धान संस्कृति प्रवद्र्धन, शैक्षिक नवप्रवर्तनको बिस्तार तथा अन्तरसंस्थागत सहकार्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । उक्त सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग नेपालले आर्थिक सहयोग प्रदान गरेको छ । साथै भरतपुर महानगरपालिका, चितवन उद्योग वाणिज्य संघ तथा मौलाकालि केबलकार लिमिटेडले सम्मेलनको सहकार्य तथा सहयोगी संस्थाका रूपमा योगदान पु¥याएका छन् ।












