चितवन । परीक्षा अवधिमा जफत गरिएका मोबाइल तथा स्मार्ट वाचहरू नष्ट गरिएको घटनाप्रति पत्रकार अजित अधिकारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई खुला पत्र लेख्दै छानबिन र जिम्मेवारमाथि कारबाहीको माग गरेका छन्।
अधिकारीले लेखेको पत्रमा सिरहामा एसइई, कक्षा ११ र १२ को परीक्षाका क्रममा बरामद गरिएका करिब ४९६ मोबाइल फोन र ५ वटा स्मार्ट वाच पानीमा डुबाएर नष्ट गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाइएको छ।
करिब १ करोड रुपैयाँ बराबरका उपकरण नष्ट गरिएको भिडियो सार्वजनिक भएपछि घटनाले सामाजिक सञ्जालमा व्यापक बहस सिर्जना गरेको उनले उल्लेख गरेका छन्।
पत्रमा उनले अनुशासन कायम गर्ने नाममा निजी सम्पत्ति नष्ट गर्नु कानुनी र नैतिक रूपमा उचित नभएको दाबी गरेका छन्। विद्यार्थीहरूले प्रयोग गरेका उपकरणहरू गल्ती सुधार्ने अवसर दिनुको सट्टा नष्ट गर्नु गलत अभ्यास भएको भन्दै यस्तो निर्णय गर्ने तथा कार्यान्वयन गर्ने पक्षलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ।
अधिकारीले अभिभावकले ठूलो मेहनत र आर्थिक भार बोकेर आफ्ना छोराछोरीलाई उपलब्ध गराएको सामग्री यसरी नष्ट गर्नु उचित नहुने उल्लेख गर्दै यसलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमा यस घटनालाई लिएर फरक–फरक धारणा देखिएका छन्। केहीले परीक्षा अनुशासन कायम गर्न आवश्यक कदम भने पनि धेरैले निजी सम्पत्तिमाथि क्षति पुर्याउनु प्रश्नयोग्य रहेको टिप्पणी गरेका छन्।
पत्रको अन्त्यमा पत्रकार अधिकारीले मन्त्री पोखरेललाई घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक नीति र निर्देशन दिन आग्रह गरेका छन्। साथै उनले शिक्षा प्रणालीलाई अझ सुधार गर्दै देशलाई शिक्षित, आत्मनिर्भर र प्रविधिमैत्री बनाउनुपर्ने सुझावसमेत दिएका छन्।











