काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले रास्वपाले चुनावअघि गरेको वाचाअनुरूप परिणाम देखाउन व्यस्त रहँदा प्रधानमन्त्रीले विदेश भ्रमण नगरेको प्रतिक्रिय दिएका छन्।
भारत भ्रमणमा रहेका उनले आइतबार नयाँ दिल्लीमा पत्रकारसँगको कुराकानीमा समय आएपछि प्रधानमन्त्री भारत मात्र नभई अन्य देश पनि जाने बताएका हुन्।
‘अहिले त सरकारको ‘हनिमुन पिरियड’ पनि पूरा भएको छैन। एउटा नयाँ सरकारको रूपमा हामी नेपालको आर्थिक वर्षको अन्त्यतिर छौँ, नयाँ बजेट प्रस्ताव गर्नुपर्ने थियो। हामीलाई शासन गर्न यस्तो बलियो जनमत दिने जनतालाई प्रारम्भिक नतिजाहरू देखाउन प्रधानमन्त्री धेरै नै इच्छुक हुनुहुन्छ’, ‘त्यसैले उहाँ अहिले मुख्यतया आन्तरिक मोर्चामै नतिजा देखाउन केन्द्रित हुनुहुन्छ। तर, जब उपयुक्त समय आउँछ, उहाँले भ्रमण शुरु गर्नुहुनेछ।’
फरक प्रसंगमा उनले भारतसँगको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको बताए। दुवै पक्ष खुला हृदयका साथ संवादमा जुटेमा कुनै पनि समस्या समाधान गर्न नसकिने खालको नरहेको स्पष्ट पारे।
‘जब हामी खुला हृदय, विवेकी दिमाग र आपसी सम्मानका साथ बस्छौँ, तब कुनै पनि समस्या धेरै ठूलो हुँदैन र कुनै पनि सीमा धेरै जटिल हुँदैन’, उनले भने।











