मधुसूदन दवाडी
चितवन । नेपालको शैक्षिक अनुसन्धान र अध्यापनमा लामो अनुभव बनाउनु भएको शिक्षाविद प्राध्यापक डा विद्यानाथ कोइरालाले आजको शिक्षकले पूर्वीय दर्शन र सभ्यतालाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको छ ।
सप्तगण्डकी बहुमुखी क्याम्पसमा शुक्रबारबाट सुरु भएको प्राज्ञिक अनुसन्धानसम्बन्धी तीन दिने राष्ट्रिय सम्मेलनको दोस्रो दिन आज मन्तव्य राख्दै पूर्वीय दर्शनलाई शिक्षा क्षेत्रले बिर्सन नहुने सुझाव दिनु भएको हो ।
सम्मेलनमा डा. कोइरालाले भन्नुभयो, ‘अहिले हामी पश्चिमा शिक्षाको बाटोमा अन्धाधुन्ध लाग्दा समाजबाट मानवीय मूल्य, मान्यता र असल आचरण हराउँदै गएको छ । नदीमा लगेर ढल मिसाएर प्रदूषण गर्नु हुँदैन भन्ने कुरा गरिरहेका छौं । विकसित देशले समुन्द्रमा रकेट खसालेर समुन्द्रले पर्याप्त अक्सिजन दिन नसकेको कुरा गरिरहेका छन् ।
अहिले प्रविधिको पछाडि अन्धाधुन्ध लाग्दा पृथ्वी नै ध्वस्त हुने खतरा बढेको छ । विकसित देशले पृथ्वीमाथि गरेको कार्बन उत्सर्जन र दोहनको पीडा हामीले अहिले जलवायु परिवर्तन र तापमान वृद्धि जस्ता समस्याबाट भोगिरहेका छौं ।’ उहाँले धर्म भनेको आफूले आफूलाई बुझ्ने कार्य हो भन्दै प्रकृति नै देवता भएको विचार राख्नु भयो । उहाँले भन्नुभयो, ‘ शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्छ । किताबी इन्जिनियर र जिन्दगीको इञ्जिनियरबिच ठूलो अन्तर हुन्छ । विद्यालय र विश्वविद्यालयमा अहिलेको पढाउने तरिका बदल्नुपर्छ ।’
डा कोइरालाले आफ्नो प्रस्तुतिमा शिक्षालाई वेद, बुद्ध दर्शन र धर्म शास्त्रसँग जोड्दै आज विकसित देशहरुले प्रतिपादन गरेका सिद्धान्त र ज्ञानहरु कयौं वर्ष अघि नै पूर्वीय दर्शनले व्याख्या गरिसकेको जानकारी दिँदै शिक्षा क्षेत्रमा रुपान्तरण गर्नको लागि रुपान्तरण आफूबाट गर्नुपर्नै सल्लाह दिनु भयो ।
त्यसैगरी आज भएको दोस्रो सेसनको छलफलमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका सहायक डिन एशोसिएट प्राध्यापक डा. विनोद प्रसाद पन्तले रुपान्तरणकारी सिकाइको लागि स्टिम एजुकेशनको बारेमा आफ्नो प्रस्तुति दिनुभयो । उहाँले अहिलेको शिक्षामा प्रविधिसँगै मानवियतालाई पनि जोड्न सुझाव दिँदै मानवियताको अवधारणाबाट समाजसँग अन्तरक्रिया र छलफल गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ शिक्षक सधै कक्षाकोठामा अरुको रेडिमेड ज्ञानमा मात्र भर पर्ने भन्दा पनि अनुसन्धानमार्फत् ज्ञानको उत्पादनमा गर्नुपर्छ । व्यक्ति परिवर्तन भयो भने कक्षा परिवर्तन र संस्था परिवर्तन हुन्छ । शिक्षा अब नागरिकको जीवन पद्धति बन्नुपर्छ ।’ त्यसैगरी आज भएको अन्तिम छलफलमा नेपाल खुला विश्वविद्यालयका सहप्राध्यापक खगेन्द्र प्रसाइले समता, समावेशिता र सामाजिक न्यायको बारेमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।
सम्मेलनको दोस्रो दिन शनिबार अनुसन्धानसम्बन्धी ३० वटा पेपर प्रस्तुति गरेर त्यसमाथि छलफल भयो । अब भोलि आइतबार बाँकी १४ वटा अनुसन्धान पेपरमा छलफल हुनेछ । भोलि त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विज्ञानका सहप्राध्यापक डा रमेशराज पन्तले वातावरणको दिगोपनाको बारेमा आफ्नो प्रस्तुति दिनुहुनेछ । आइतबार बिहान सम्मेलनमा सहभागी सबै अतिथि र सहभागीहरु मौलाकालिका दर्शन गरेर फर्किएपछि अनुसन्धान पेपरमाथि छलफल र बहस हुनेछ ।
सम्मेलनले शिक्षाविद्, अनुसन्धानकर्ता, नीतिनिर्माता, व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूलाई एक साझा मञ्च प्रदान गर्ने अपेक्षा क्याम्पसको छ । सम्मेलनको मूल उद्देश्य दिगोपना, रूपान्तरणकारी शिक्षा, दिगो व्यवस्थापन तथा प्रविधिमा आधारित नविन अभ्यासहरूका विषयमा विद्वान्, अभ्यासकर्ता अनुसन्धानकर्ता तथा विद्यार्थीहरूबीच ज्ञान, अनुभव र अनुसन्धानका निष्कर्षहरूको आदान–प्रदान गराउनु रहेको छ । यस सम्मेलनका प्रमुख आकर्षणहरूमा विज्ञ वक्तव्य, आमन्त्रित प्रवचन, प्यानल छलफल, शोधपत्र प्रस्तुति, व्यवहारिक कार्यशाला तथा पोस्टर प्रस्तुति रहेका छन् ।
सम्मेलनले उच्च शिक्षामा अनुसन्धान संस्कृति प्रवद्र्धन, शैक्षिक नवप्रवर्तनको बिस्तार तथा अन्तरसंस्थागत सहकार्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । उक्त सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग नेपालले आर्थिक सहयोग प्रदान गरेको छ । साथै भरतपुर महानगरपालिका, चितवन उद्योग वाणिज्य संघ तथा मौलाकालि केबलकार लिमिटेडले सम्मेलनको सहकार्य तथा सहयोगी संस्थाका रूपमा योगदान पु¥याएका छन् ।












