माडी । चितवनको माडी नगरपालिकामा मृत्यु भइसकेका व्यक्तिहरूको नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुसार, स्थानीय तहले समयमा लगत कट्टा नगर्दा राज्य कोषबाट ६८ हजार रुपैयाँ हिनामिना भएको हो ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा २६(३) बमोजिम कुनै लाभग्राहीको मृत्यु भएमा वा भत्ता पाउन अयोग्य भएमा तत्काल लगत कट्टा गरी बाँकी रकम संघीय संचित कोषमा दाखिला गर्नुपर्ने कानुनी व्यवस्था भए तापनि माडी नगरपालिकाले त्यसको पूर्ण उल्लंघन गरेको प्रतिवेदनले औँल्याएको छ ।
नगरपालिकाका विभिन्न वडाहरूमा मृत्यु भइसकेका ७ जना लाभग्राहीहरूको लगत समयमा कट्टा नगरिएका कारण मात्रै कुल ६८ हजार १८४ रुपैयाँ बढी निकासा भएको प्रतिवेदनमा स्पष्ट रूपमा खुलाइएको छ ।













