काठमाडौं । अस्तव्यत रुपमा विद्युत्का पोलमा टाँगिएका इन्टरनेट, केबल टिभि र दुरसञ्चार संरचनाका तारहरु ४५ दिनभित्र हटाउन नेपाल विद्युत् प्राधिकरणले निर्देशन दिएको छ ।
प्राधिकरणको निर्देशनअनुसार काम नगरे प्राधिरकण आफैंले यस्ता अव्यवस्थित तार हटाउने र त्यसको खर्च सम्बन्धित सेवा प्रदायकबाटै उठाउने चेतावनी समेत दिएको छ ।
प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै अव्यवस्थित तारहरुले शहरलाई कुरुप बनाएको, आगलागी लगायतका विद्युतीय दुर्घटनाहरु बढ्दै जानुका साथै विद्युत्ीय सेवामा समेत अवरोध सिर्जना भएकोले उक्त तारहरु व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
आगलागी नियन्त्रण गर्न र विद्युत सेवा भरपर्दो बनाउन भन्दै दूरसञ्चार तथा टेलिभिजन सेवा प्रदायकहरुलाई प्राधिकरणले मापदण्डअनुसार नै तार व्यवस्थापन गर्न सूचना जारी गरेको हो।
प्राधिकरणले प्राधिरकणले ४०० भोल्ट लाइनको नाङ्गो तार र अन्य सेवा प्रदायकले टांग्ने तारबीच ८० सेमीको दुरी हुनुपर्ने बताएको छ । यस्तो तार र पैदलमार्गबीच २.४ मिटरको दुरी (उचाइ) हुनुपर्ने प्राधिकरणको मापदण्ड छ । त्यसैगरी ४०० भोल्टको इन्सुलेटेड तार र अन्य तारबीच ३० सेमीको दुरी र यस्तो पोलमा पैदलमार्गसाग तारको दुरी ५।५ मिटर कायम गर्ने प्राधिकरणले निर्देशन दिएको छ ।
११ केभी र ३३ केभी लाइनमा विद्युतको तार र अन्य तारबीचको दुरी २ मिटर, अन्य ४ सय भोल्टका उपकरण र तारहरुबीचको दुरी ७५ सेमी हुनुपर्ने प्राधिकरणले बताएको छ ।
प्राधिकरणले राउटर, रिपिटर, एक्ट्रयाक्टर, अप्टिकल फाइबर वितरण बक्स, जोइन्ट क्लोजरजस्ता उपकरण पोलको एउटा मात्रै साइडमा क्रम मिलाएर, नहल्लिने, नझर्ने गरी क्लिप ब्यान्डको प्रयोग गरेर राख्न भनेको छ ।
प्रयोगमा नरहेका तार र उपकरण तत्काल पोलबाट हटाउन पनि प्राधिरकणले निर्देशन दिएको छ । पोलमा तारहरु बेरेर नझुन्ड्याउन र आफ्नो तार सजिलै छुट्याउन सक्ने गरी केबल ट्याग र मार्किङ गर्न निर्देशन दिएको छ ।
प्राधिरकणले सम्भव भएसम्म बढी कोर भएको केबल तानेर धेरै सेवाप्रदायकले सेवा दिने व्यवस्था गर्न प्राधिकरणले भनेको छ । तारहरु सडक वारपार नतान्न र तान्किएको भए हटाउन पनि प्राधिकरणले निर्देशन दिएको छ ।











