चितवन । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले गरेको तीन दिने अनुसन्धानसम्बन्धी राष्ट्रिय सम्मेलन सकिएको छ ।
शुक्रबारबाट सुरु भएको सम्मेलन ४२ वटा अनुसन्धानपत्रमाथि प्राज्ञिक मन्थन गर्दै आज आइतबार सकिएको हो । सम्मेलनमा नेपालका पाँचवटा विश्वविद्यालयबाट १७० जनाको सहभागिता रहेको थियो । १० वटा प्राविधिक शत्रमा क्याम्पसका विद्यार्थीहरुदेखि प्राध्यापकसम्मका अनुसन्धान पत्रमा गहिरो मन्थन गरियो ।
६ वटा पूर्णशत्रमा त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्राध्यापक डा. महानन्द चालिसे, व्यवस्थापन संकायका पूर्वडिन डा डिल्लीराज शर्मा, शिक्षाविद् प्राध्यापक डा विद्यानाथ कोइराला, काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशनका सहायक डिन सहप्राध्यापक डा विनोदप्रसाद पन्त, नेपाल खुला विश्वविद्यालयका सहप्राध्यापक खगेन्द्र प्रसाइ, त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. रमेशराज पन्तले विभिन्न शत्रमा आफ्नो महत्वपूर्ण विचार वा मन्तव्य राख्नुभयो ।
सम्मेलनमा विज्ञहरुले जलवायु परिवर्तन र वातावरणको दिगोपना, समता, समावेशिता, सामाजिक न्याय, शिक्षामा पूर्वीय दर्शन र पश्चिमा दर्शनको प्रयोग तथा सान्दर्भिकता देखि लिएर शिक्षण सिकाइ प्रक्रियामा रुपान्तरण जस्ता विषयमा विज्ञहरुले विमर्श गर्नुभयो ।
आज क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयमा अनुसन्धानको महत्वबारे प्रकाश पार्नुभयो । सामुदायिक क्याम्पसको प्राध्यापकको समस्या समाधान गर्दै गुणस्तरको विकासमा सबैले ध्यान दिनुपर्ने विचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘ देशको विकास गर्ने हो भने अनुसन्धान र विमर्शका यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।’ त्यसैगरी क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा अधिकारीले अब अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तिर सप्तगण्डकी क्याम्पस लाग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सप्तगण्डकी क्याम्पसलाई शैक्षिक र अनुसन्धानको केन्द्र बनाउने लक्ष्यसहित म अध्यक्ष बनेको थिएँ । समाज बदल्न हिडेको मानिस अहिले क्याम्पस बदल्न आइपुगेको छु । सप्तगण्डकी क्याम्पस क्याम्पस होइन यो एउटा अनुसन्धान र अध्ययनको केन्द्र पनि हो ।’
समापन शत्रमा अनुसन्धन सम्बन्धी राष्ट्रिय सम्मेलनको संयोजक प्राध्यापक डा कपिलदेव सुवेदी, सहप्राध्यापक डा. विनोदखण्ड तिमिल्सिना, क्याम्पसको पूर्वक्याम्पस प्रमुख मणिराज महतोले सम्मेलन सफल बनाउन योगदान दिने सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा सम्मेलनमा विभिन्न क्याम्पसबाट सहभागीहरुमध्ये सप्तगण्डकी क्याम्पसको सञ्चालन समितिको उपाध्यक्ष शिक्षाविद रमाकान्त सापकोटा, जनज्योति क्याम्पसको सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाइँ, म्याग्दी क्याप्पसको सहायक क्याम्पस प्रमुख भोला घिमिरे, वीरेन्द्र क्याम्पसकी प्रतिनिधि अस्मिता दाहाल, आदिकवि भानुभक्त क्याम्पस दमौलीबाट सहभागी विद्यार्थी अनिशा थापाले तीन दिने सम्मेलनबारेमा आफ्ना अनुभवहरु प्रस्तुत गर्नुभयो । उहाँहरुले यस्ता सम्मेलनको भविष्यमा पनि निरन्तरताको कामना गर्नुभयो ।
समापन समारोह भन्दा अगाडि जलवायु परिवर्तन र वातावरणको दिगोपनाको बारेमा पूर्णसत्र सञ्चालन भयो । जसमा त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. रमेशराज पन्तले जलवायु परिवर्तनका कारण, असरहरु र समाधानका उपायहरुबारे आफ्नो अनुसन्धानमूलक मन्तव्य राख्नुभयो । उहाँले हामीले कार्बन उत्र्सजन नगर्दा नगर्दै पनि यसको असर भोग्न विवश बनेको तथ्यहरु प्रस्तुत गर्नुभयो । कृषि क्षेत्रदेखि सिमान्तकृत समुदायसम्म सबै क्षेत्र जलवायु परिवर्तनको असरमा परेको उहाँले बताउनुभयो ।
उहाँको प्रस्तुतिमाथि प्रतिक्रिया दिँदै वीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा. हरिहर पौडेलले सप्तगण्डकी बहुमुखी क्याम्पसले गरेको अनुसन्धानसम्बन्धी सम्मेलनमा जलवायु परिवर्तन जस्तो सममामयिक विषय समावेश गर्नु स्वागतयोग्य विषय हो भन्दै यसले कृषि उत्पादनमा नकारात्मक असर गरेको विचार राख्नुभयो । उहाँले भन्नुभयो यस सवालमा युरोपियन राष्ट्रहरुको तुलनामा नेपाल धेरै पछाडिमात्र जोडिए पनि यसको असरमा भुक्तभोगी हुन बाध्य हुनुपरेको बताउनुभयो । सप्तगण्डकी बहुमुखी क्याम्पसका वातावरण विज्ञानका सहायकप्राध्यापक ध्रुव आचार्यले सो शत्रको सहजीकरण गर्नुभएको थियो ।
तीन दिने सम्मेलनले शिक्षाविद्, अनुसन्धानकर्ता, नीतिनिर्माता, व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूलाई एक साझा मञ्च प्रदान गरेको क्याम्पसले जनाएको छ । सम्मेलनमा दिगोपना, रूपान्तरणकारी शिक्षा, दिगो व्यवस्थापन तथा प्रविधिमा आधारित नविन अभ्यासहरूका विषयमा विद्वान्, अभ्यासकर्ता अनुसन्धानकर्ता तथा विद्यार्थीहरूबीच ज्ञान, अनुभव र अनुसन्धानका निष्कर्षहरूको आदान–प्रदान गरिएको थियो । यस सम्मेलनका प्रमुख आकर्षणहरूमा विज्ञ वक्तव्य, आमन्त्रित प्रवचन, प्यानल छलफल, शोधपत्र प्रस्तुति, व्यवहारिक कार्यशाला तथा पोस्टर प्रस्तुति रहेका थिए ।
सम्मेलनले उच्च शिक्षामा अनुसन्धान संस्कृति प्रवद्र्धन, शैक्षिक नवप्रवर्तनको बिस्तार तथा अन्तरसंस्थागत सहकार्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको छ । उक्त सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग नेपालले आर्थिक सहयोग प्रदान गरेको थियो । साथै भरतपुर महानगरपालिका, चितवन उद्योग वाणिज्य संघ तथा मौलाकालि केबलकार लिमिटेडले सम्मेलनको सहकार्य तथा सहयोगी संस्थाका रूपमा योगदान पु¥याए ।











