चितवन । नेकपा एमालेका नेता घनश्याम भुषालले पार्टी परित्याग गरेका छन् । प्रतिनिधि सभाको निर्वाचनको लागि टिकट नपाएपछि भुषालले सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । उनी यसअघि रुपन्देहीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
एमालेमा अध्यक्ष केपी ओलीको दम्भ र स्वेच्छाचारी बढ्दै गएको भन्दै उनले पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि पार्टी परित्याग गरेको बताएका छन् ।
उनले लेखेका छन्, ‘अहिले यो पार्टी कमरेड केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले—केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु । नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ । राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु । कमरेडहरु, सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं’











