चितवन । नेपालकै पहिलो र विश्व सम्पदा सूचीमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्ज आजबाट ५०औँ वर्षमा प्रवेश गरेको छ । विसं २०३० असोज ४ गते स्थापना भएको निकुञ्जले स्वर्ण वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै छ ।
निकुञ्जले असोज ७ गते औपचारिक कार्यक्रमगरी स्वर्ण वर्षको शुभारम्भ गर्दै छ । निकुञ्ज मुख्यालय कसरामा स्वर्ण वर्षको शुभारम्भ गरिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । निकुञ्जले स्वर्ण वर्ष मनाइरहँदा संरक्षण भने अझै पनि चुनौतिपूर्ण छ । निकुञ्जको प्रमुख पहिचानका रुपमा रहेको दुर्लभ एकसिंगे गैंडा मर्ने र मार्ने क्रम रोकिएको छैन ।
स्वर्ण वर्ष प्रवेशको अवसरमा स्मारिका प्रकाशनगर्ने, स्वर्ण स्तम्भ अनावरण गर्ने, मध्यवर्ती क्षेत्रका बोटे, कुमाल, थारू, गुरुङ, मगर, तामाङ, दरै आदि समुदायको संस्कृति प्रदर्शन जस्ता कार्यक्रमहरु आयोजना गरिएको छ । यो निकुञ्ज ९५२.६३ वर्ग किमि फैलिएको छ । सन् १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा गैँडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिङ्गे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावरहरू पाइन्छन् ।
यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी पाँच सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी एवं विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन् । यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ ।











