चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा मत्स्य व्यवसायीले नियन्त्रणमा लिएको भारतीय माछा नष्ट गरिएको छ । वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ७ ख ८८२२ नम्बरको यात्रु बहाक बसबाट नियन्त्रणमा लिइएको माछा आज भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरको कार्यालय पछाडि खाल्डो खनेर पुरिएको हो ।
माछा नियन्त्रणमा लिएर व्यवसायीले प्रहरीको जिम्मा लगाएका थिए । साँझपख पशु क्वारेन्टाइन चेक पोष्ट रामनगरमा माछाको मुचुल्का गरेर नष्ट गरिएको हो । १४ कार्टुन भारतीय माछा नष्ट गरिएको व्यवसायी लालबहादुर तामाङले बताए । ११ कार्टुन छडी माछा नेपाली उत्पादन भनिएपनि वीरगञ्जबाट माछा पठाउने अंश फिस सप्लायर्सले बील देखाउन नसकेको तामाङले बताए ।
यात्रुबहाक बसमा राखेर पोखरा लैजादै गरिएको नैनी, रहु र पंगास गरी ६२० किलो माछा चितवनका मत्स्य व्यवसायीले नियन्त्रणमा लिएका थिए । भेटेरिनरी प्रमाणपत्रमा पिकअप गाडीमा ढुवानी गर्ने भनिएकामा यात्रुबहाक बसमा माछा भेटिएपछि व्यवसायीले माछा नियन्त्रणमा लिएका हुन् ।
गैरकानुनी रुपमा माछाको ढुवानी भएको पाइएपछि पशु क्वारेन्टाइन चेक पोष्ट रामनगरका पशु प्राविधिक शिरिष गौतमले माछा नष्ट गर्न निर्देशन दिएका हुन् । कार्टुनमा राखेर लैजादै गरिएको माछा ५० देखि ६० प्रतिशत जति सडेको पाइएको पशु प्राविधिक गौतमले बताए ।
अनुमति दिएको भन्दा फरक गाडीबाट माछाको ढुवानी भएकाले माछा नियन्त्रणमा लिइएको मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले बताए ।
उक्त माछा वीरगञ्जको अंश फिस सप्लायर्सले सुनिल फिस हाउस पोखरा पठाउन लागेको कागजपत्रमा उल्लेख छ । डा हरे राम यादवले हस्ताक्षर गरेको भेटेरिनरी प्रमाणपत्र असोज २ गते जारी भएको देखिन्छ । भेटेरिनरी प्रमाणपत्र जारी भएको ७२ घण्टासम्म मात्र मान्य हुने कानुनी व्यवस्था छ ।
https://youtu.be/2alIYShy84k