भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।
हिजो भएको चुनावी प्रक्रियाको अन्तिम मत परिणाम अनुसार जिल्ला सभापति पदमा ई. मिनि माधव खनाल भारी मतका साथ विजयी हुनुभएको छ। खनालले २२२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धीहरू कृष्ण प्रसाद भुषालले १११ मत र प्रकाश आचार्यले २२ मत मात्र प्राप्त गर्नुभयो।
यस्तै, उपसभापति पदमा निर्मला गिरी १९० मत ल्याएर निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी टीकादत्त इटनीले ८४ मत र प्रभाकर जोशीले ७३ मत प्राप्त गर्नुभयो। पार्टीको जिल्ला सचिव पदमा भने तेजन्द्र प्रसाद पौडेल १९४ मतका साथ विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी नेत्र लामिछानेले १४५ मत प्राप्त गर्नुभएको थियो।
प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेसँगै चितवनमा रास्वपाको संगठनलाई थप सुदृढ र गतिशील बनाउने विश्वास लिइएको छ। नवनिर्वाचित पदाधिकारीहरूलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन्।












