चितवन । भदौ २६ गते दिउँसो करिब १ः१५ बजेको समयमा भरतपुर महानगरपालिका–४ फनपार्क नजिक रहेको नारायणी मनि ट्रान्सफरको कोठाभित्र छोटो कपाल, आकाशे निलो कलरको टिसर्ट, निलो कलरको हाप पाईन्ट र मुखमा कालो माक्स लगाएका अपरिचित व्यक्ति प्रवेश गरे ।
बोराभित्र धारिलो हतियार दाउ जस्तो देखिने फलामको हतियार बोकेका ती व्यक्तिले मनि ट्रान्सफरमा छिरी काउन्टरमा बसिरहेकी स्टाफलाई मार्ने धम्की दिए ।
त्यसपछि उनले मनि ट्रान्सफरको काउन्टरमा रहेको नगद दुई लाख चार हजार २५० रुपैयाँ जबरजस्ती डाँका फरार भए । उक्त घटनाको उजुरीपछि चितवन प्रहरीले सिसिटीभी फुटेजलगायतका प्रमाण संकलन ग¥यो ।
उक्त व्यक्तिको खोजतलास गर्ने क्रममा बागमती प्रदेश ०३–००१ ह १२६३ नम्वरको अटो चालक नवलपरासी बर्दघाट सुस्ता पूर्व घर भई हाल भरतपुर–१६ मा डेरा गरी बस्ने बर्ष ४२ को मिनमान सुनारलाई प्रहरीले भदौ २७ गते दिउँसो करिब साढे १ बजे भरतपुरको चौविसकोठीबाट अटोसहित पक्राउ गरेको हो ।
निजमाथि प्रारम्भिक रुपमा सोधपुछ गर्दा निजले घटनामा आफ्नो संलग्नता स्विकार गरेको र निजको शरीरमा चेकजाँच गर्दा साथमा १३ हजार ६०५ रुपैयाँ फेला परेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । निजको कोठा चेकजाँच गर्दा एक लाख ६७ हजार रुपैयाँ नगद र धारिलो हतियार दाउ दुई वटा बरामद गरिएको उनले बताए ।
निजले घटना घटाउँदा लगाएको कपडा भरतपुर–२६ सिसैस्थित घोलभित्र लुकाई छिपाई राखेको अवस्थामा भेटिएको उनको भनाइ छ । निज व्यक्तिमाथि डाँका चोरी कसूरमा थप अनुसन्धान भईरहेको उनले बताए ।











