चितवन । वैदेशिक रोजगारीको लोभ देखाएर महिलालाई बेच्न लागेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुवेतमा ५० हजार रुपैयाँ तलब आउने रोजगारी लगाइदिन्छु भनि महिलालाई फकाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा चितवन प्रहरीले नारायणगढ पुलचोकबाट काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका–५ बस्ने बर्ष ४८ को खेम प्रसाद भट्टराईलाई भदौ २७ गते पक्राउ गरेको हो ।
म्याग्दीको वेनी नगरपालिका–१० स्थायी घर भई हाल भरतपुरमा परीवारसंग बस्दै आएकी एक महिलालाई भट्टराईले भारत हुँदै कुवेत लगी बिक्री गर्ने मनशाय राखेको प्रहरीले जनाएको छ । भारतको बाटो हुँदै कुवेत जाने विषयमा कसैलाई नभन्नु भनि सिकाई ललाई फकाई भारततर्फ लैजादै गर्दा साना हात नामक संस्थाको सहयोगमा भट्टराईलाई पक्राउ गरी मानव वेचविखन तथा ओसारपसार कसुरमा थप अनुसन्धान भईरहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।











