चितवन । पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बन्ने भएका छन् । राप्रपा चितवनले पूर्वमन्त्री पाण्डेलाई क्षिेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको छ । राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले पूर्वमन्त्री पाण्डेलाई यसपाली फेरी क्षेत्र नम्बर ३ बाट जिताउने गरी अभियान सुरु भएको बताए । प्रदेशतर्फ ३ (क)मा गिरिबहादुर तामाङ, ३ (ख) मा प्रदेश सांसद तथा राप्रपाका केन्द्रीय सहमहामन्त्री रिना गुरुङको नाम सिफारिस भएको उनले जानकारी दिइन् ।
ढकालका अनुसार क्षेत्र नम्बर ३ राप्रपाको बलियो जनआधार भएको क्षेत्र हो । राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले तत्कालिन क्षेत्र नम्बर ५ मा पूर्वमन्त्रीले गरेका कामले चुनाव जित्न सहज रहेको दाबी गरे । २०७० मा दोस्रो संविधानसभा चुनावमा गठबन्धन नहुदा पाण्डेले एमाले, कांग्रेस, माओवादी उम्मेदवारलाई पराजित गर्दै संविधानसभा सदस्य बनेका थिए । संविधानसभा सदस्य हुदा माडीमा पक्की मोटरेबल पुलको योजना स्वीकृत गरेर ठेक्का लागेको थियो ।
२०७३ मा भूमिसुधार मन्त्रीहुँदा माडी, चनौली र खैरहनीमा नापी तथा मालपोत कार्यालय र माडीमा इलाका प्रशासन कार्यालय स्थापना भएका थिए । २०७४ मा चितवन राष्ट्रिय निकुञ्जहुदै माडी जाने–आउने सुविधाप्राप्त बाटोमा उहाँकै पहलमा प्रवेश शुल्क निःशुल्क भएको थियो । उनको कार्याकालमा माडी चक्रपथ, रिउ करिडोर जस्ता दीर्घकालिन महत्वका योजनाहरु अगाडी बढेको भण्डारीले बताए । भरतपुर–२७ मेघौलीमा बेतरी खोलामा पुल, नारायणी तटबन्धन, रिउ तटबन्धन, मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि मेसजाली राख्ने लगायतका कामहरु भएका थिए । २०७४ मा गठबन्धनका कारण विजयी हुन नसकेका पाण्डे यसपाली जित्ने रणनीतिमा छन् ।











