काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीति विकृत भएको बताएका छन्।
सोमबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपाल ९आइसिटियू० को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको राजनीतिमा फोहोर जमेको र त्यसलाई सफा गर्नुपर्ने बताए।
उनले राजनीति मानिसका लागि घृणाको विषय बनेको बताए। उनले नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति आपत्ति जनाए।
उनले भ्रष्टाचार, सहज रुपमा सेवा प्रवाह नगर्नु र जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्तिले नेपालको राजनीतिप्रति निराश मान्दै गएको बताए।
उनले भने, ‘हामी देशको राजनीतिलाई पनि राम्रो दिशामा लैजान चाहन्छौं। राजनीतिमा अनेकौँ फोहोर जमेको छ, त्यसलाई सफा गर्न चाहन्छौँ। राजनीति मानिसका लागि घृणाको विषय बनेको छ, किनभने विकृत भएको छ, भ्रष्टाचारमा डुबेको छ। यसबीच नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएको छ। नकारात्मक र निराशाजनक कुरामा जुध्नुपर्छ, पहिलो कारण भ्रष्टाचार हो, दोस्रो कारण सहज रुपमा सेवा प्रवाह नगर्ने प्रवृत्ति, तेस्रो जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्ति, चौथो हाम्रा सबै कामहरुले जनताको निम्ति परिणाम दिन नसक्नु। छिटो काम नहुने, रोजगारी प्रवर्द्धन नहुने, सीप नदिने, यस्ता समस्या देखिएका छन्।’
अध्यक्ष नेपालले अबको समयमा स्वदेशमा रोजगारी दिने, सीप प्रवर्द्धन गर्ने र जनतामा सेवा सहज बनाउने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए।












