चितवन । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीमा उत्साह देखिनु अस्थायी प्रवृत्ति भएको बताएका छन् । भरतपुर–१४ शिवनगर स्थित आफ्नै निवासमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले रास्वपाले केहि सिट जित्दैमा मुलधारका पार्टी नसकिने बताए ।
मुलाधारका पार्टीप्रति जनताको वितृष्णा रहेको कुरा आफुलाई नलागेको उनले बताए । रास्वपाको चुनाव चिह्नप्रति इंकित गर्दै उनले भने, ‘बारामा त्यहि चुनाव चिह्नलाई जनताले जमानत जफत गर्छन् । अर्काे ठाउँमा फेरि उत्पात गर्छन् । त्यसकारण मैले यसलाई अस्थायी भन्छु । यो स्थायी प्रवृत्ति होइन ।’
मुलाधारका पार्टीप्रति जनताले बेला–बेलामा वितृष्णा देखाएपनि अन्तत तिनै पार्टी हावी हुने गरेको उनले बताए । पञ्चायत विरोधी देखि जनआन्दोलन गरेका दलहरु नै विश्वसनिय भएको दाबी गर्दै उनले रास्वपा प्रति देखिएको जनताको आकर्षण अस्थायी फेनोमेनम भएको टिप्पणी गरे ।












