काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदो र कोदोजन्य खानाले स्वस्थ भएको बताएका छन् । स्वास्थ्यको लागि फाइदाजनक भएको कोदोले सुगर र प्रेसर पनि कम गर्ने उनको भनाइ छ।
शुक्रबार काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पदान गर्न सुझाव दिए। उनले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताए।
सम्मानित नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको बताए। उनले हरेक कुरालाई पराजय गर्नको लागि आत्मविश्वासको आवश्यक्ता रहेको बताए।
उनले भने, ‘मैले आफैँले भोगेको कुरा भन्ने हो भने प्रेसर र सुगर भएका रोगीहरुले कोदो खायो भने कम हुन्छ। मेरो पनि अलि अलि प्रेसर थियो, अहिले मेरो केही पनि छैन। मेरो स्वास्थ्य पहिलाभन्दा धेरै राम्रो छ।’
पूर्वप्रधानमन्त्री खनालले नैतिकवान राजनीतिज्ञ मात्रै सधैँभर आफ्नो उचाइमा बसिरहन सक्षम हुने बताए।












