काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालले पनि भारतको सीमा मिचेको पुष्टि गर्न प्रधानमन्त्रीलाई चुनौती दिएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा साम्पाङले नभए नेपाली जनतासमक्ष माफी माग्न भनेका छन्।
उनले प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म अन्य विषयमा बहस गर्नु अर्थहीन हुने टिप्पणी गर्दै राष्ट्रिय भूगोल र सार्वभौमिकताको रक्षा राज्यको पहिलो दायित्व भएको तर्क गरे। उनले प्रधानमन्त्री शाहको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र सीमासम्बन्धी संवेदनशील विषयमा अनावश्यक अन्योल सिर्जना गरेको बताए।
‘उहाँले हाम्रो सीमानाको बारेमा हाम्रो देशले छिमेकी मुलुकलाई कहाँ कहाँ अतिक्रमण गरेको हो भन्नेबारे पुष्टि गर्नुपर्छ। होइन भने नेपाली जनतालाई सम्बोधन गरेर आफ्नो भनाइ सच्याउनुपर्छ’, साम्पाङले भने,‘त्यो कुरा नसच्चिएसम्म अर्को विषयमा प्रवेश गर्नु मिथ्या रहन्छ, किनभने देश र रहनको भूगोल चाहिन्छ। भूगोल बिनाको देश हुँदैन।’
प्रधानमन्त्री साहले प्रतिनिधिसभामा ‘भारतले नेपालको भूमि मात्र नभई नेपालले समेत भारतको भूमि अतिक्रमण गरेको छ’ भन्ने विवादित अभिव्यक्ति दिएका थिए। त्यसैको विरोधमा विपक्षी दलले संसदमा अवरोध गर्दै आएका छन्।












