भरतपुर । आँपटारीस्थित योगी नरहरिनाथ आश्रम वागीश्वरीमा जारी कोटिहोम महायज्ञमा हालसम्म ७० प्रतिशत हवन सम्पन्न भएको छ ।
राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा भएको महायज्ञमा बिजमन्त्रद्धारा एक करोड पटक कोटिहवन गर्ने तय भएकामा सोमबारसम्म ७० प्रतिशत भन्दाबढी हवन भएको छ ।
करोडौँ पटक हुने हवन कुनै एक व्यक्तिले घरमा गर्न नसक्ने भएकाले कोटिहोम महायज्ञको दर्शन गरी पुण्यलाभ लिन भक्तजनहरुलाई आग्रह गरिएको छ । राष्ट्र शान्ति र विश्व शान्तिको कामना गर्दै ५९ दिन लामो महायज्ञ गरिएको हो । महायज्ञको उच्चपदस्थ व्यक्तिहरुले पनि दर्शन गर्दै आएका छन् ।
गत वैशाख १७ गतेदेखि सुरू भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ आगामी असार १३ गते सम्पन्न हुनेछ । महायज्ञको दर्शन गर्न सोमबार कैलालीबाट एउटा समूह आएको थियो । धार्मिक यात्राका क्रममा देवघाट आएको जनप्रतिनिधिसहितको समूहले महायज्ञको दर्शन गरेको हो । महायज्ञको दर्शन गर्न तथा कथा श्रवण गर्न टाढा–टाढाबाट भक्तजनहरु आउने क्रम जारी छ । पूर्व युवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्र मंगलबार वागीश्वरी आउने कार्यक्रम रहेको छ ।
महायज्ञअन्तर्गत भएको भजन प्रतियोगिताको समापन यहि जेठ ३० गते हुँदै छ । महायज्ञमा अहिले बिजमन्त्रद्वारा नियमित हवन गर्नुका साथै अतिरुद्री महायज्ञ र सहस्र चण्डी पनि भइरहेको छ । आगामी असार ६ गते नौ वर्ष मुनिका एक हजार आठ बालिकाको सामुहिक पुजन गरिँदै छ । असार ८ गते पाँचसरे सवा करोड दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको महायज्ञ संयोजक एवम् मुख्यकर्ता प्रेमनिधि भारद्वाजले जानकारी दिए । दीप प्रज्वलनका लागि आवश्यक पर्ने बत्ती उपलब्ध गराइदिन पनि उनले आग्रह गरेका छन् ।











