काठमाडौँ । नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन हार्ने दावी गरेका छन् । लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले चितवन-२ का जनताले निर्वाचनमा हराउने नेता बस्नेतको जिकिर थियो ।
शनिबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको पनि बताए । नेता बस्नेतले युवा र लोकप्रिय भएकाले सो निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने सम्भावना बढि रहेको बताए । सो चुनावमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने उनको बुझाइ थियो ।
‘चितवन २ का जनताले यो नक्कली राष्ट्रवाद, यो अवसरवादी चरित्र, यो पब्लिक कम्जवसन्शनका लागि गरिने कुराहरुबाट चितवन २ मुक्त हुुन्छ । त्यहाँ नेकपा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुुन्छ । र, रविजी त्यसलाई पछ्याउनु हुन्छ’ बस्नेतले भने, ‘सम्भवतः हिजो कृष्णभक्त पोखरेलले राम्रो काम गरेको हुनाले र आज रामप्रसाद न्यौपाने एउटा नयाँ युवाहरुको बीचमा पपुलर व्यक्ति हामीले उठाएका छौं । त्यसअनुसार युवाहरुलाई राजनीतिमा ल्याउनुपर्छ भन्ने मान्यता पनि छ । उनको सम्भावना निकै बलियो छ । कमजोर छैन भन्ने मलाई लाग्दछ । चितवनका जनताले रविजीलाई जिताउँदैनन् ।’
नेता बस्नेतले सरकारको काम कारबाही देश र जनताको हितमा नरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।












