काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । आज बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न भएको छ’, उनले भने, ‘परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थितरूपमा सम्पन्न गराउन सबैमा आह्वान गर्दछौँ ।’ उनले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याउनेलगायतका सबै काम सकिएको जानकारी दिए ।
एसइईमा चितवनबाट १० हजार ८५४ जना परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको चितवन शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । चैत १७ गते शुक्रबारदेखि चैत २९ गतेसम्म एसईई चल्नेछ । एसईई परीक्षाका लागि प्रश्नपत्रहरू चितवनका ४२ वटा केन्द्रसम्म पु¥याइसकिएका छन् ।
यसपालि एसईईका लागि चितवनमा एक हजार ६३९ पर्यवेक्षक तथा कर्मचारीहरु खटाइएको समन्वय इकाइ प्रमुख भूमिलाल सुवेदीले जानकारी दिए । चितवनमा एसईई दिने १० हजार ४७२ विद्यार्थीहरु मध्ये छात्रा पाँच हजार ३६४ र छात्र पाँच हजार ४९० रहेका छन् । त्यसैगरी प्राविधिक धारतर्फ २५१ र ग्रेड वृद्धिका १३३ जना विद्यार्थी रहेका छन् । चितवनमा सात वटा विद्यालयमा प्राविधिक शिक्षा पढाइ हुने गरेको छ ।
चितवन शिक्षा विकास र समन्वय इकाइ प्रमुख सुवेदीले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनका ४२ वटा केन्द्र मध्ये भरतपुर महानगरपालिकामा २२ वटा, रत्ननगर नगरपालिकामा सात वटा, खैरहनी नगरपालिकामा चार वटा, राप्तीमा दुई वटा, माडीमा दुई वटा, कालिका नगरपालिकामा दुई वटा र इच्छाकामना गाउँपालिकामा दुई वटा केन्द्रहरु रहेका छन् ।
चितवनबाट रत्ननगरको बछौली केन्द्रबाट तीन जना दृष्टिबिहीन विद्यार्थीहरुले एसईई परीक्षा दिने भएका छन् । समन्वय इकाइ प्रमुख सुवेदीले सम्पूर्ण एसईईका केन्द्राध्यक्षहरुलाई अनुशिक्षण गरेर आआफ्नो जिम्मेवारीमा खटाइएको बताए । सबै केन्द्रमा गरेर ६३० जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।












