भरतपुर । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई वर्षदेखि अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम दुई हप्ताभित्र अघि बढ्ने आश्वासन दिएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले छिटोमा एक हप्ता र ढिलोमा दुई हप्ताभित्र रंगशालाको समस्या समाधान गरेर काम अघि बढाइने बताए ।
‘त्यो क्रिकेट रंगशाला मलाई लाग्छ एक हप्ता या दुई हप्ताभित्र त्यसको सबै समस्या समाधान हुन्छ र निर्माण कार्य अगाडि बढ्छ । यो कुरा मैले विश्वास दिलाउन चाहन्छु’, प्रचण्डले भने ।
धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर–१५ मा निर्माण गर्न लागेको रंगशाला आर्थिक अभावपछि अलपत्र परेको छ । रंगशाला निर्माणमा १८ करोड रुपैयाँ ऋण लागेपछि फाउण्डेशनले हात झिकेको हो । टर्मिनल भवनको शिलान्यास कार्यक्रमलाई प्रचण्डले सम्बोधन गर्नुअघि बोलेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले रंगशालाको विषयमा अब बस्ने मन्त्रीपरिषद्को पूर्ण बैठकले निर्णय गरिदिन आग्रह गरेकी थिइन् ।












