चितवन । चितवनमा सञ्चालित विभिन्न लघुवित्त संघसंस्थाविरुद्ध नारायणगढमा प्रदर्शन भएको छ । लघुवित्तमा आवद्ध शेयर सदस्यले आफूहरुले हैरानी खेपेको भन्दै नाराबाजी गरेका हुन् । लघुवित्तबाट ऋण निकालेका व्यक्तिहरुले समयमा किस्ता बुझाउन नसक्दा घरमै आएर घरखेत, बाख्रा र कुखुरा माग गर्ने गरेको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् ।
मनहरी गाउँपालिका–४ कि कान्छिमाया तिदुङले दुईवटा फरक लघुवित्तबाट तीन/तीन लाख गरी जम्मा ६ लाख रुपैयाँ ऋण निकालेको बताइन् । लघुवित्तले व्याजदर बढाएर १८ प्रतिशत पु¥याएकोले आन्दोलन गरेका उनले बताइन् ।
‘महिनामा एउटा लघुवित्तमा १८ हजार र अर्कोमा १३ हजार किस्ता तिर्नुपर्छ । अहिलेसम्म ऋणधन गरेर किस्ता तिरेकै छु,’ उनले भनिन्, ‘कालोसूचीमा हालेपछि छोराछोरीको जन्मदर्ता र नागकिता बन्दैन भन्दै किस्ता नतिरे तीन पुस्तासम्मलाई कालोसूचीमा हाल्ने धम्की दिन्छन् ।’
मनहरी–४ कै माया बनकरिया पनि लघुवित्तहरुको व्यवहारबाट आजित भएको बताउँछिन् ।
निर्धारित समयमा किस्ता तिर्न नसक्दा लघुवित्तले तीन पुस्तासम्मले बैङकिङ कारोबार गर्न नमिल्ने गरेर कालोसूचीमा हाल्ने धम्की दिएकोले आन्दोलन गरेको उनले बताइन् ।
‘५० हजार ऋण ल्याएको चुक्ता भइसक्यो तर समयमा किस्ता नतिरेको भन्दै मासिक पाँच सयका दरले जम्मा गरेको मेरो बचत फिर्ता दिन्न भनेको छ,’ उनले भनिन् । कुनै लघुवित्तले भने विस्तारै तिर्नु भन्दै तिर्नुपर्ने पैसा बढाउँदै लगेको उनको आरोप छ । ‘८० हजारको ९ किस्ता तिर्दापनि ८१ हजार बाँकी छ भन्छन्,’ उनले भनिन् ।
भरतपुर–१३ उजेलीनगरकी लालमाया परियारले केहि वर्ष अगाडी लघुवित्तबाट साढे तीन लाख ऋण निकालिन् । सुरुवातमा सेयर सदस्यको रुपमा संस्थामा आवद्ध भएकी परियारले आवश्यकता परिपूर्ती गर्न ऋण निकालेको बताइन् ।
‘तीन/चार महिना बुझाउन सकेकी छैन । घरमै आएर सामान निकाल्ने धम्की दिन्छन्, यसको ऋण तिर्दा तिर्दै घरजग्गा सकियो,’ उनले भनिन्, ‘म जस्ता गरिबको अवस्था हेरेर क्रृण मिनाहा गर्दिए हुन्थ्यो ।’ श्रीमान विरामी भएकोले पैसा कमाउन नसकेको र लघुवित्त घरमै आएर तनाव दिएपछि आत्महत्याको प्रयास गरेको समेत उनले बताइन् ।












