चितवन । भरतपुर–४ लंकुस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरद्वारा सञ्चालित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् (गुरुकुलम्)को सुसञ्चालन र सर्वाङ्गीण विकासका लागि बृहत् अक्षयकोष स्थापनार्थ पीठाधीश स्वामी जगन्नाथाचार्यको संकल्पमा जारी श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञमा भोलिको विशिष्ट वक्ताका रूपमा वाचन प्रवीण दीनबन्धु पोखरेल आउने भएका छन् ।
महायज्ञमा हिजोदेखि विश्वविख्यात कथावाचक ईश्वरकृष्ण महाराजको प्रवचन भइरहेको छ। आजसम्म नगद र बोलकबोल गरी झण्डै २ करोड ३५ लाखभन्दा बढी रकम संकलन भइसकेको महायज्ञ सम्पादन मूल समितिका सहकोषाध्यक्ष नवराज सापकोटाले जानकारी दिए । देशका प्रमुख सन्त–महात्माहरू, शैक्षिक, राजनैतिक, सामाजिक व्यक्तिहरूको उपस्थिति भइरहेको महायज्ञमा आज प्रमुख अतिथिका रूपमा बोल्दै वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटाले गुरुकुलको विकासका लागि सरकारबाट सहयोगका लागि आफुले सक्दो पहल गर्ने बताए ।
महायज्ञ समापनतिर अग्रसर भइरहँदा भक्तजनहरूको भिड बढ्दै गइरहेको र गुरुकुल रक्षाका लागि सबैमा जागरण भइरहेको र सहयोगीहरू पनि बढ्दै गइरहेको गुरुकुलका प्राचार्य डा लक्ष्मीनाथ कँडेलले बताए । यसैबिच महायज्ञको अवसर पारेर आज मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यद्वारा रचना गरिएको गोदा–स्मृति काव्यको विमोचन गरिएको छ। महायज्ञमा आज फिल्म अभिनेता रमित ढुङ्गानाको पनि आगमन भएको थियो। कार्यक्रम गुरुकुलका सल्लाहकार एवम् नव मन्दिर निर्माण समितिका संयोजक दानवीर गोपालप्रसाद कँडेलको सभापतित्वमा सम्पन्न भएको थियो।












