चितवन । भरतपुर–४ लंकुस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरद्वारा सञ्चालित वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् (गुरुकुलम्)को सर्वाङ्गीण विकासार्थ पीठाधीश स्वामी जगन्नाथाचार्यको संकल्पमा जारी लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञको प्रथम चरणको आज समापन भई भोलिदेखि दोस्रो चरणको सुरुवात हुँदैछ। प्रथम चरण समापन भएर कार्यक्रमको मध्यभाग चल्दै गर्दा १ करोड ८० लाख भन्दा बढी रकम संकलन भएको महायज्ञ सम्पादन मूल समितिका सह–सचिव डा गोपीनाथ कँडेलले बताए ।
प्रथम चरणमा नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, श्री वैष्णव परिषद् नेपालका अध्यक्ष स्वामी देवराजाचार्य, स्वामी श्रीधराचार्य, विमलानन्द सरस्वती, स्वामी पद्मनाभाचार्य, श्रीनिवासाचार्य, गौर सुन्दरदास प्रभु लगायतका सन्त–महात्माहरू, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल, कालिका संस्कृत विद्यापीठका प्राचार्य सह प्राडा रामचन्द्र कँडेल लगायतका शैक्षिक व्यक्तिहरू, पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, वाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, नेकपा एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली लगायतका राजनैतिक व्यक्तिहरूको महायज्ञमा आगमन भइसकेको छ। महायज्ञको प्रथम चरणमा यशोदा माताले प्रवचन गरेकी थिइन् ।
प्रथम चरणको अन्तिम दिनको कार्यक्रम श्रीवैष्णव परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णप्रपन्न गौतमको प्रमुख आतिथ्य तथा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो। भोलिबाट सुरु हुने दोस्रो चरणमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथावाचक ईश्वर कृष्ण महाराजले प्रवचन गर्ने मीडिया संयोजक माधव सापकोटाले जानकारी दिए ।
लक्ष्मीवैकुण्ठनाथ मन्दिरको प्रतिष्ठापूर्व नै २०२७ सालतिरबाटै अनौपचारिकरूपमा स्वामी, गुरु एवम् पुजारीहरूबाट विद्यार्थीहरूलाई यथोचित शिक्षा दिने कार्य चल्दै आएकोमा वर्तमान पीठाधीश जगन्नाथाचार्य स्वामीको अभिषेकपछि २०४१ सालबाट वेदवेदाङ्गको अध्यापनका लागि गुरुकुलको स्थापना गर्ने कार्यलाई अगाडी बढाई २०४४ साल पुस २२ गते परमानन्द गुरुबाट उद्घाटन भएको सो गुरुकुलमा २०७१ सालमा सम्बद्ध प्रशासनिक निकायबाट कक्षा ६ को मान्यता प्राप्त गरी २०७६ सालदेखि क्रमशः कक्षा ९ हुँदै यसै वर्षदेखि कक्षा १२ सम्म संचालन भइरहेको छ । यस गुरुकुलमा अहिले देशका विभिन्न क्षेत्रबाट आएका ५५ जना विद्यार्थीहरूले आवासभोजनसहित निःशुल्क शिक्षा लिइरहेको आयोजकले जनाएको छ।
गुरुकुलमा हाल संचालित माध्यमिक तहको गुरुकुलीय संस्कृत शिक्षालाई सुव्यवस्थित, गुणस्तरीय र समृद्ध बनाउँदै उच्च शिक्षाका लागि आवश्यक पूर्वाधार तयार गरी स्नातक हुँदै स्नातकोत्तरसम्म पुर्याउने लक्ष्य लिइएको र सो लक्ष्य प्राप्तिका लागि हाल गुरुकुलमा रहेको कोष अत्यन्त न्यून रहेकाले जनसहयोगबाट एक बृहत् अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट गुरुकुल संचालन गर्न महायज्ञको आयोजना गरिएको हो।












