काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला स्वास्थ्यकर्मी माथि प्रहरीले लाठी चार्ज गरेको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका आकस्मिक सेवा बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने भएको छ ।
संघले आज एक विज्ञप्ति जारी गरी माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको भन्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
संघले त्यसको विरोधमा माघ २९ गते देशभरका सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७९ माघ २९ गते आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको ब्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’
संघले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि भीभीआइपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु र हजारौंको संख्यामा सेवा लिन आइरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुराअवस्था सिर्जना गरिएकोप्रति स्तब्ध भएको जनाएको छ ।