माडी । माडी प्रेमी युवा सञ्जालले माडीबासीले लामो समयदेखि भोग्दै आएका समस्याहरूलाई दिर्घकालिन रुपमा समाधानका लागि राष्ट्रिय स्तरमा आवाज उठाउने भएको छ ।
आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षितगरी माडीवासीले भोग्दै आएका प्रमुख समस्याहरुको समाधानका लागि साझा आवाज उठाइने सञ्जालले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
विशेषगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ का कारण माडीवासीले भोग्दै आएका समस्याको पुनरावलोकन गरी आवश्यक सुधार गर्न माग गरिएको छ। सञ्जालले माडीको सुकुम्बासी समस्याको स्थायी, न्यायोचित र व्यवहारिक समाधान आवश्यक रहेको उल्लेख गरेको छ।
त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सडकखण्डमा कालोपत्रे वा ढलान गर्नुपर्ने, माडी–९ स्थित हनुमानझुलामा विद्युतिकरण तथा निकुञ्जभित्र गुणस्तरीय भुमिगत केबुल विस्तार गर्नुपर्ने लगायतका माग अघि सारिएको छ।
कार्यक्रममा माडी तथा जिल्लाका पत्रकार, सामाजिक अगुवा र अभियन्ताहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले माडीका समस्या केवल स्थानीय नभई राष्ट्रिय सरोकारका विषय भएकाले आगामी निर्वाचनमा सबै उम्मेदवारले यी मुद्दालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।











