भरतपुर । कोशी प्रदेश र चितवन बीच पर्यटन विकास प्रवर्द्वन र सहकार्य गर्नेगरी छलफल सम्पन्न भएको छ। मङ्गलबार चितवनको नारायणगढमा कोशी पर्यटन वर्ष २०८२ र चितवनका पर्यटन सरोकार व्यवसायी संगठनहरू बीच छलफल सम्पन्न भएको हो।
छलफलमा बागमती प्रदेशको दक्षिणी क्षेत्र र कोशी प्रदेश बीच डाइभर्सिटी टुरिजम बारे छलफल भएको हो। कार्यक्रममा दुई क्षेत्रबीच पर्यटन सहकार्य अनुभव आदानप्रदान गर्ने अनौपचारिक सहमति पनि भएको छ।
कार्यक्रममा होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष दिनेश कुमार चुकेले दुवै पक्षबीच पर्यटनका अथाह सम्भावना भएकोले सहकार्य गर्दा दुवै पक्षले उपलब्धि लिन सक्ने बताए । उनले भरतपुर भ्रमण वर्ष २०२४ को अनुभव कोशी प्रदेश पर्यटन वर्षका लागि अनुकरणीय हुने पनि बताए।
सोही कार्यक्रममा चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले पर्यटकहरुलाई गर्ने व्यवहारले व्यवसाय निर्भर हुने बताए । कार्यक्रममा भरतपुर महानगर पालिकाका पर्यटनविद् डाक्टर विश्व सुवेदीले भरतपुर भ्रमण वर्षको अनुभव प्रस्तुत गरेका थिए । उनले चितवन र कोशी बीच धार्मिक पर्यावरण पर्या पर्यटन हिमाली पर्यटन पदमार्ग जङ्गल पर्यटन जल पर्यटन बीच सहकार्य र व्यवसाय आदानप्रदान गर्ने व्यापक सम्भावना रहेको पनि बताए।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्णकुमार शाहको सभापतित्वमा भएको कार्यक्रममा तारा कार्की, सुमन घिमिरे, ओम पाण्डे, गोपाल भट्टराई, बसन्त पराजुली, ऋषिकेश अर्याल लगायतले दुई पक्षबीच का सम्भावनाबारे आआफ्ना धारणा व्यक्त गरेका थिए। कार्यक्रममा पर्यटन वर्ष समितिका सहसंयोजक भविष्यकुमार श्रेष्ठले स्वागत मन्तव्य गरेका थिए भने सदस्य राजन दङ्गालले धन्यवाद ज्ञापन गरे। कार्यक्रममा कोशी प्रदेश भ्रमण वर्षको निम्तो पनि प्रदान गरिएको थियो।












