भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य सोविता गौतमले चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्ने बताएकी छन् । बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै गौतमले आफ्नो घर नै चितवन क्षेत्र नं ३ मा रहेको बताइन् । उनी यसअघि काठमाडौं क्षेत्र नं २ बाट प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएकी थिइन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई काठमाडौं–२ छाड्नु परेको अवस्थामा आफु चितवन–३ बाटै चुनाव लड्ने उनले स्पष्ट पारिन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल पनि चितवन–३ बाट चुनाव लड्दै छिन् । सोविता पनि चितवन–३ मै आउने भएपछि राजनीतिक वृत्तमा एउटा तरंग छाएको छ ।
सोविताले पत्रकारसँग कुराकानी गर्दै भनिन्, ‘मेरो घर चितवन नै हो । विवाह गरेर गएको मेरो घर चितवन क्षेत्र नं. ३ नै पर्छ । काठमाडौँ क्षेत्र नं २ मा मेयर बालेन्द्र साह उठ्ने परिस्थिती निर्माण हुँदै गर्दा म स्वभाविक रुपमा चितवन ३ मा जानुपर्छ । त्यो हिसाबले चर्चा परिचर्चा भएको छ । उमेदवारीको घोषणा हुँदा सबै कुराको निक्र्याैल हुन्छ ।’
कानुन निर्माणका लागि नै संसदीय राजनीति गर्नुपर्ने भएकाले अध्ययन र बहसका लागि आफु तयार भएको उनले बताइन् ।












