भरतपुर । पत्रकार वसन्त ढुंगाना आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । चितवन उद्योग वाणिज्य संघले आफ्नो ५९ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको अवसर पारेर पत्रकार ढुंगानालाई ५१ हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको हो ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पुरस्कारको चेक हस्तान्तरण गरे । संघले हरेक २ वर्षमा चितवनबाट आर्थिक विषयका समाचार लेख्दै आएका पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको छ । पत्रकार ढुंगाना चितवनमा रहेर एक दशकदेखि पत्रकारितामा क्रियाशिल छन् ।
ढुंगानासँग रेडियो, टेलिभिजन, पत्रिका, अनलाइन लगायतका सञ्चार माध्यममा रहेर काम गरेको अनुभव छ । हाल उनी नागरिक दैनिक र नारायणी अनलाईनमा आवद्ध छन् । बाग्लुङ जिल्लाको बरेङ गाउँपालिका–१ मा जन्मिएका ढुंगानाले चितवन जिल्लालाई पत्रकारिताको कर्मथलो बनाएर जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि लगायत व्यवसायिक पर्वद्धनसँग सम्बन्धित विषय बनाएर कलम अगाडि बढाउँदै आएका छन् ।










