भरतपुर । नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकार अजय गोर्खालीको रहस्यमय निधनबारे अध्ययन गर्न समिति गठन गरेको छ । पत्रकार महासंघ चितवन शाखाका सदस्य गोर्खालीको गत मंसिर २० गते रहस्यमय निधन भएको थियो।
महासंघको शुक्रबार आकस्मिक बसेको कार्यसमितिको बैठकले पत्रकार गोर्खालीको निधनको विषमा विभिन्न आशंकाहरु उब्जिएको भन्दै महासंघले स्वतन्त्र रुपमा अध्ययन गर्ने निर्णय गरेको हो ।
निधनअघि गोर्खालीलाई नारायणगढमा केहि व्यक्तिहरुले निर्वस्त्र बनाई लखेटेको भिडियो सार्वजनिक भएका छन् । निज गोर्खालीलाई उद्धार गरी भरतपुर अस्पताल पुर्याउँदा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
पत्रकार गोर्खालीलाई लखेट्ने मध्येका एक जनालाई प्रहरीले पक्राउ पनि गरेको छ । पत्रकार महासंघले घटनाको सत्य, तथ्य छानविन गरि सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई दबाब दिइरहेको छ ।
घटनाको विषयमा महासंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको अध्ययन गर्न उपाध्यक्ष शान्ता अधिकारीको संयोजकतवमा अध्ययन समिति गठन गरिएको महासंघले जनाएको छ । समितिको सदस्यमा पत्रकार सरोज उपरकोटी र सुदन पौडेल सदस्य रहेका छन् ।
‘महासंघ अजय गोर्खालीको रहस्यमय निधनको विषयमा यथाशक्य छिटो सत्य, तथ्य पत्ता लगाउन माग गर्दछ । घटनामा दोषी ठहरिएकालाई पक्राउ गरि कारवाही गर्न महासंघ जिल्ला प्रहरी कार्यालयसँग जोडदार माग गर्दछ’, महासंघका सचिव राजेश घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।













