भरतपुर । भरतपुर महानगरपालिकाको विभिन्न स्थानमा ४१८ वटा सिसीक्यामरा जडान गर्ने कामको सुरुवात यसै सातादेखि हुने भएको छ ।
महानगरका करिब २५० वटा स्थानमा पुस ७ गतेदेखि सिसीक्यामरा जडान गर्ने तयारी रहेको छ । भरतपुर महानगरपालिकालाई सुरक्षित सहर बनाउने योजना अनुरुप एकैपटक यति धेरै संख्यामा सिसीक्यामरा जडान गर्न लागिएको हो ।
दशैँ अगाडिदेखि नै सिसीक्यामरा जडान गर्ने भनिएकामा जनेजी आन्दोलनका कारण केही पछाडि धकेलिएको भरतपुर महानगरपालिकाको सहरी पूर्वाधार विकास महाशाखा प्रमुख एवम् सिनियर डिभिजन इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए । उनका अनुसार सिनर्जी आइटी सोलुसन काठमाडौँसँग गरिएको सम्झौता बमोजिम दुई महिनाभित्र सिसीक्यामरा जडानको काम सकिने छ ।
‘हामीले ६ महिनाभित्र सिसीक्यामरा जडान गरिसक्ने सम्झौता गरेका थियौँ । दशैँ अगाडिबाट नै काम सुरु गर्ने भनिएको थियो, तर जेनजी आन्दोलनका कारण सिसीक्यामरा राख्ने काम केही ढिला हुन पुग्यो । अबको दुई महिनाभित्रै काम सक्छौँ’, उनले भने ।
पाँच करोड ५८ लाख २० हजार रूपैयाँ लागतमा जडान गर्न लागिएको क्यामराहरुको मनिटरिङ कक्ष जिल्ला प्रहरी कार्यालयमा रहने छ । प्रहरी कार्यालयको कन्ट्रोल रुम रहेको भवनको माथिल्लो तलामा सिसीक्यामराको सर्भर र मनिटरिङ प्रणाली रहने महानगरका सूचनाप्रविधि अधिकृत विकल्प काफ्लेले जानकारी दिए । ‘सिसीक्यामराको सर्भर राख्ने र मनिटरिङ गर्ने कक्षको पहिचान भइसकेको छ । यसै हप्ता सिसीक्यामरा जडान कार्य सुरू हुन्छ’, उनले भने ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई सुरक्षित सहर बनाउने वाचा पूरा हुन लागेको बताइन् । ‘आधुनिक सहरको लागि सिसीक्यामरा अनिवार्य थियो । हामीले भरतपुरलाई सुरक्षित सहर बनाउने वाचा गरेका थियौँ । यो वाचा पूरा हुने चरणमा छ’, उनले भनिन्, ‘दुर्घटना न्यूनीकरण र अपराध न्यूनीकरण गर्न सिसीक्यामराले ठूलो सहयोग मिल्ने विश्वास लिएको छु ।’
इन्जिनियर आचार्यका अनुसार महानगरका २९ वटै वडामा सिसी क्यामरा जडान गरिने छ । गाउँ क्षेत्रभन्दा सहरी क्षेत्रमा तुलनात्मकरुपमा धेरै क्यामरा जडान हुने उनले बताए । महानगर र प्रहरीको संयुक्त टोलीले क्यामरा जडान गर्ने स्थानको पहिचान गरेको हो । विभिन्न स्थानमा जडान हुने ४१८ वटा क्यामरामध्ये आठ मेगापिक्सलको बुलेट सिसी क्यामरा ४०५ वटा, ३६० डिग्रीमा घुम्ने चार मेगापिक्सलका पिटिजेड क्यामरा नौ वटा र एएनपिआर (अटोमेटिक नम्बर प्लेट रिडर) बुलेट क्यामरा चार वटा रहेका छन् । यी क्यामरा वडाको मुख्य चोक र बढी भीडभाड हुने स्थानमा जडान गरिने छ ।
गोन्द्राङ र आँपटारीमा दुई÷दुईवटा एएनपिआर बुलेट क्यामरा जडान गरिने उनले जानकारी दिए । उनले नेपाल टेलिकमसँग सहकार्य गरी अप्टिकल फाइबरमार्फत सिसीक्यामरा जडान गरिने बताए । जिल्ला प्रहरी कार्यालयमा हुने मोनिटरिङ रूममा १ हजार १ सय ५२ टिबीको मुख्य स्टोरेज हुनेछ । क्यामराहरुले कैद गरेका भिडियोहरु तीन महिनासम्म स्टोरेज गर्न सकिने उनी बताउँछन् ।
पिटिजेड क्यामरा घुम्ने प्रकृतिको क्यामरा हो । यसले ३६० डिग्रीमा घुमेर दृश्य कैद गर्न सक्छ । बढी भीडभाड हुने स्थानमा यस्ता क्यामरा जडान गरिने उनी बताउँछन् । जडान हुने सबै क्यामराहरु डाहुवा ब्रान्डका हुन् । यी क्यामरा एनएमएस सिस्टमबाट सञ्चालन हुनेछन् ।












