काठमाडौं । पछिल्लो १२ घण्टामा देशका विभिन्न भागमा पानी परेको छ ।
गण्डकी, मधेस, बागमती र कोशी प्रदेशका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।
दिउँसोपछि देशभर आंशिकदेखि सामान्य बदली रहने र धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पुगेको छ ।
केही भू–भागमा मेघगर्जनसहित भारी वर्षा हुने सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ । काठमाण्डौ उपत्यकामा बिहानैदेखि छिटपुट परिरहेको छ भने आकाशमा बाक्लो बादल देखिएको छ ।
दिउँसो उपत्यकासहित आसपासका क्षेत्रमा समेत वर्षाको सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ । देशका पहाडी र भू–स्खलनप्रवण क्षेत्रहरूमा वर्षा बढेसँगै बाढी र पहिरोको जोखिम पनि बढेको भन्दै सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।












