काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेकपा एमाले नेता दामोदर भण्डारीले अहिले राजनीतिक कार्यकर्तालाई ‘झोले’ र निजी क्षेत्रलाई बिचौलिया र दलाल भन्ने गरिएको भन्दै आपत्ति जनाएका छन्।
काठमाडौँमा नेकपा एमालेले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीसँगको अन्तरसंवादमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले उद्योगीहरूका माग र मुद्दा सम्बोधन गर्दा दलाल, बिचौलियासँग सरकारको मिलोमतो छ भन्ने गरिएकोप्रति आपत्ति जनाए। उनले अर्थतन्त्र चलायमान बनाउन सरकारले केन्द्र भागमा राखेर काम गरिरहेको उल्लेख गरे।
उनले अहिले राजनीतिक कार्यकर्ताहरूलाई ‘झोले’ र निजी क्षेत्रलाई बिचौलिया र दलाल भन्ने गरिएकोप्रति असन्तुष्टि जनाए।
मन्त्री भण्डारीले भने, ‘अहिले एउटा भाषा चलेको छ‚ राजनीतिक कार्यकर्ताहरूलाई झोले भन्ने, निजी क्षेत्रलाई बिचौलिया र दलाल भन्ने।’
मन्त्री भण्डारीले लगानी प्रवर्धनमा जोड दिन आवश्यक रहेको बताए। उनले जलविद्युत् क्षेत्रमा लगानीको वातावरण सुनिश्चित गरेको बताए। उनले सरकारले लगानीको क्षेत्र फराकिलो बनाएर अघि बढ्न खोजिरहेको बताए।












