काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनमा सहभागी हुन आह्वान गरेकी छिन् ।
शनिबार दोलखाको जिरीमा आयोजित संगठन सवलीकरण तथा जागरण अभियानलाई सम्बोधन गर्न पुगेकी सांसद गौतमले विदेशमा रहेका नेपालीलाई भोट हाल्न पाउने व्यवस्था गराउन सरकारले बेवास्ता गरेकोप्रति आपत्ति जनाइन् ।
‘यतिबेला सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था गर भनेर राज्यलाई निर्देशन दिएको छ । तर, सरकारले सुने पनि नसुनेजस्तो गरेर बसेको छ,’ गौतमले भनिन् ।
विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा भोट हाल्ने कानुन बनाउँदा रास्वपाको मत बढ्छ भन्ने डर वर्तमान गठबन्धनका दलहरूलाई रहेको सांसद गौतमको जिकिर छ ।
‘विदेश जानुभएका साथिहरूलाई पनि आह्वान गर्न चाहन्छु, अब नेपाल जाने अभियान चलाउनुस् । ०८४ मा,’ उनको अपिल छ, ‘जतिबेला निर्वाचन हुन्छ त्यतिबेला नेपाल आउने अभियान चलाउनुस् । तपाईं कुन ठाउँमा हुनुहुन्छ, एक ठाउँमा जुटेर आउनुस् ।’












