काठमाडौं । आज वैशाख शुक्ल नवमी अर्थात् सीताजयन्ती। उनीप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। रामनवमीको एक महिनामा यो पर्व पर्छ।
त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा उल्लेख छ । भगवान् विष्णुको सातौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको बताइन्छ। उनै रामसँग सीताको विवाह भएको थियो।
पौराणिक ग्रन्थमा सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा उल्लेख भएको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। सीतालाई नेपाली राष्ट्रिय विभूतिका रूपमा समेत सम्मान गरिन्छ।
जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्छ। यसै अवसरमा मंगलबार बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको सीताको मूर्तिमा विशेष पूजा आराधनासहित भक्तिसङ्गीत र प्रवचन कार्यक्रम आयोजना गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डा गोविन्द टण्डनले जानकारी दिए।
गोकर्णेश्वर नगरपालिका-२ भूमिस्थलीस्थित रामजानकी मन्दिरमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ।












