भरतपुर । नेपालकै मध्यभागमा रहेको संघिय अस्पताल भरतपुर अस्पतालले क्याथल्याब लगाएतका थप नयाँ सेवाहरु विस्तार गरेको छ । अस्पतालमा सोमवार आयोजित एककार्यक्रमका विच स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गरेसँगै अस्पतालले क्याथल्याब लगाएतका नयाँ नौवटा सेवा विस्तार गरेको हो ।
अस्पतालले मुटुमा तथा शरिरका अन्य स्थानमा रक्तनलीहरु बन्द हुने समस्यामा दुरपिनको माध्यमवाट शल्यकृया गराउने गरि क्याथल्याब सेवा शुरु गरेको हो भने यो सगैँ आईसियू सहितको जलन वार्ड, फटिलिटी क्लिनिक, स्तनपान प्रर्वधन कार्यक्रम, चाइल्ड प्ले थेरापी, योगा ध्यान केन्द्र लगाएतका सेवाहरु सञ्चालनमा ल्याएको हो ।
सेवा शुभारम्भ गर्दै मन्त्री पौडेलले भरतपुर अस्पताललाई सवै खालको उपचार उपलब्ध गराउन सक्ने क्षमताको अस्पतालका रुपमा विकसित गराउन सरकार लगेको बताउनुभएको छ ।
“यो अस्पताललाई सवै खालको उपचार सेवा हुने विशिष्टकृत अस्पताल वनाउन मन्त्रालय, विकास समिति र अस्पताल प्रशासन निरन्तर लागि रहेको छ”, उहाँले भन्नुभयो । उहाँले भरतपुर अस्पतालको सेवा विस्तारकालागि एमविविएस कक्षा यसै वर्ष देखि सञ्चालन गर्ने तयारी भैरहेको पनि जनाउनुभयो ।
“एमविविएस कार्यक्रम एकेडेमिक कार्यक्रम हो । स्वास्थ्य मन्त्रालयसग मात्रै हैन चिकित्सा शिक्षा आयोगसग सम्वन्धित कार्यक्रम हो । अघिल्लो वर्ष आयोगले नै स्विकृत नदिदा यो अस्पतालले एमविविएस पढाउन पाएन । यो वर्ष हामीले अहिले नै आयोगलाई पत्र लेखेर अनुमति मागि सकेका छौँ”, उहाँले स्पष्ट शब्दमा भन्नुभयो ।
विगतमा प्रतिष्ठान नहुदा भरतपुरले एमविविएस कार्यक्रम नपाएको पनि उहाँले खुलाउनु भयो । तर यो वर्ष देखि प्रतिष्ठान नभए पनि मन्त्रालयकै पहलमा भरतपुरमा एमविविएस सञ्चालन हुने उहाँले विश्वास दिलाउनुभयो ।
अहिले रहेका प्रतिष्ठानहरुलाई पनि एकिकृत ऐन वनाएर सञ्चालन गरिने योजना सरकारको रहेको पनि उहाँले जनाउनुभयो ।
“अव हरेक प्रतिष्ठानमा भिसि, रजिष्ट्रार हैन, एउटै भिसी र रजिष्ट्रारले काम गर्ने र सम्वन्धित अस्पतालहरुमा निर्देशक वा डिन राखेर शैक्षिक कार्यक्रम सञ्चालन गर्न पर्छ । यसले खर्च कम गर्छ । एकिकृत प्रतिष्ठान ऐन पास भयो भने यस्ता पूर्वाधार पुगेका अस्पतालहरुमा एमविविएस सञ्चालन गर्न सजिलो हुने छ”, उहाँको भनाई थियो ।
उहाँले अस्पतालहरु ब्यवस्थित नभएसम्म नेपालको स्वास्थ्य सेवा सुधारिएको महशुष हुन नसक्ने बताउनुभयो । अस्पतालहरुलाई पूर्ण क्षमतामा विकसित गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले विशिष्टकृत क्षमता भएका अस्पतालहरुको जनशक्ति पनि विशिष्टिकृत नै बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै वागमती प्रदेश सरकार का पूर्व स्वास्थ मन्त्री उत्तम जोशीले भरतपुर अस्पतालको स्तर विकासमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले यो वर्ष भरतपुरमा मृगौला प्रत्यारोपण र एमविविएस कार्यक्रम जसरी पनि चालाउन स्विकृत दिनुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालमा जनशक्ति कम भएकाले वढाउन मन्त्री समक्ष माग गर्नुभयो । उहाँले अस्पतालको क्याथल्याव सञ्चालनकालगि मात्रै १३ करोड ७० लाख रुपियाँ खर्च लागेको जानकारी दिनुभयो ।
सुपरिटेण्डेन्ट प्रा डा. पौडेलले संघिय सरकार र अस्पताल विकास समितिको संयुक्त लगानीमा क्याथल्याव सेवा शुरु गरिएको जानकारी दिनुभयो । यो सेवाकालगि अस्पतालले ४ जना चिकित्सक सहित २२ जनाको टिम परिचालन गरेको छ । यसको अलवा स्तनपानलाई प्रर्वधन गर्न ल्याक्टेशन म्यानेजम्यान्ट युनियट, शल्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको प्रशिक्षणकालागि सिमुलेशन ल्याव पनि अस्पतालले सञ्चालनमा ल्याएको छ ।
राप्ती दुन उपत्यका विकास कार्यक्रम अन्र्तगत २०१३ सालमा १५ शैँयाको हेल्थ पोष्टका रुपमा स्थापना भएको यो अस्पताल २०२० सालमा राजा महेन्द्रवाट महेन्द्र आर्दश चिकित्सकालयका रुपमा उद्घाटन भएसगै स्थापित भएको हो । यसको स्तर वृद्धि हुदै २०४० सालमा ५० शैँया, २०५० सालमा १०० शैया, २०६१ मा १५० शैया, २०६७ मा २०० शैँया हुदै हाल ६०० शैँया सञ्चालनमा रहेको छ ।
२०६२/६३ को एतिहासिक आन्दोलन पछि यो अस्पतालको नाम भरतपुर अस्पताल राखिएको हो । २०७५ साउन ६ गतेको सचिव स्तरिय बैठकले प्रदेश अस्पताल रहेको यो अस्पताल स्तर वृद्धि हुदै २०७५ फागुन ३ गतेको मन्त्री परिषदको निर्णय अनुसार विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नती भएको छ । यो अस्पताललाई अहिले २०७९ फागुन १० गतेको मन्त्री परिषदको निर्णयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक अस्पतालका रुपमा विकास भैसकेको छ ।
चितवन र यस आसपासका जिल्लाहरुलाई उपचार सेवा दिइ रहेको यो अस्पतालमा अहिले छ सय भन्दा वढी शैया सञ्चालनमा रहेका छन् । यो अस्पतालले विशिष्ट विशेषज्ञ सहितको अस्पताल समयानुकुल विस्तार हुदै अहिले पनि नयाँ सेवा थपिएको अस्पतालले जनाएको छ ।












