भरतपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बुधबार) गृहजिल्ला आएका छन् । दुई मन्त्रीलाई लिएर प्रचण्ड चितवन आएका हुन् । आफ्नो निर्वाचन क्षेत्र माडीमा पुल उद्घाटनलगायत विभिन्न कार्यक्रम सहभागी हुन प्रचण्ड वनमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मत इस्तियाक राईलाई गृहजिल्ला आएका हुन् ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले नागरिकता विधेयकको विषयमा स्पष्टिकरण दिएका छन् । नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड भएको उनले बताए । ‘यो त्यहि विधेयक हो जुन केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेश मार्फत लगिएको थियो । त्यहि विधेयक संसदमा ल्याउँदा राष्ट्रघाती भन्नुजती बेइमानी र अनैतिकता अरु केहि हुनै सक्दैन ।’ नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला अध्यादेशमार्फत ल्याएको विधेयकलाई नै वर्तमान सरकारले संसदमा लगेको उनले दाबी गरे ।











