काठमाडौँ । बलात्कार आरोप लागेका निलम्बित क्रिकेटर सन्दिप लामिछानेलाई थप चार दिन हिरासतमा राखिने भएको छ । लामिछानेलाई १७ वर्षिय नाबालिकमाथी बलात्कार गरेको आरोप लागेको छ ।
काठमाडौं जिल्ला अदालतले सन्दिपलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न बुधबार अदालतसँग अनुमति मागेको थियो।
पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको हो।
भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी–२० खेल खेल्न केन्या गएका थिए। उक्त खेल भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो।











