भरतपुर । सोमबार वीरगञ्जबाट पोखरा लैजादै गरिएको १४ कार्टुन माछा व्यवसायीले भरतपुर महानगरपालिका–१ रामनगरमा नियन्त्रणमा लिए। भेटेनरी प्रमाणपत्रमा पिकअप गाडीमा माछाको ढुवानी गर्ने उल्लेख गरिएपनि यात्रुबाहक बसमा माछा भेटिएपछि व्यवसायीले नियन्त्रणमा लिएका हुन् । १४ कार्टुनमध्ये तीन कार्टुन भारतीय पंगासियस र ११ कार्टुन स्वदेशी छडी माछा हुन् ।
अनुमति दिएको भन्दा फरक गाडीबाट माछाको ढुवानी भएकाले माछा नियन्त्रणमा लिइएको मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले बताए । नियन्त्रणमा लिइएको माछा व्यवसायीले रामनगर प्रहरीको जिम्मा लगाएर छाडेका छन् । उक्त नियन्त्रित माछालाई चितवन भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञको कार्यालय पछाडी आजै नष्ट गर्न लागिएको सुवेदीले जानकारी दिए ।
उक्त माछा वीरगञ्जको अंश फिस सप्लायर्सले सुनिल फिस हाउस पोखरा पठाउन लागेको कागजपत्रमा उल्लेख छ । डा हरे राम यादवले हस्ताक्षर गरेको भेटेरिनरी प्रमाणपत्र असोज २ गते जारी भएको देखिन्छ । भेटेरिनरी प्रमाणपत्र जारी भएको ७२ घण्टासम्म मात्र मान्य हुने कानुनी व्यवस्था छ ।
भारतीय माछाको आयातमा नेपाली मत्स्य व्यवसायी आक्रामक बनेका छन् । भारतबाट लुकिछिपी आउने न्युन गुणस्तरीय माछाका कारण स्वदेशी माछाको विक्री कम भएको गुनासो गर्दै आएका व्यवसायीले भारतबाट आएका माछा विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका छन् ।
व्यवसायीले सोमबार नै काठमाडौँ लैजादै गरिएको पाँच क्विन्टल भारतीय माछा हेटौंडाको रातमाटेबाट पनि नियन्त्रणमा लिएका छन् । अर्कैले भन्सार तिरेको बील फोटोकपी गरेर माछा ढुवानी गरेको पाइएपछि व्यवसायीले माछा नियन्त्रणमा लिएको मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारीले बताए ।
त्यस्तै, भेटेरिनरी प्रमाणपत्र समेत नभएको अवस्थामा व्यवसायीले सिन्धुलीको भिमादबाट २० क्विन्टल भारतीय पंगासियस माछा नियन्त्रणमा लिएका छन् । नेपाली व्यवसायीले नै भारतबाट लुकिछिपी माछा ल्याउने गरेको व्यवसायीको गुनासो छ । भारतबाट आउने माछा कार्टुनमा बरफ हालेर त्यसमाथि माछा राखी माथिबाट बोराले बेरेर ल्याउने गरिन्छ ।
त्यसरी ल्याउँदा बरफमा नै फर्मालिन केमिकल मिसाएर माछा नकुहिने र नगन्हाउने बनाउने गरिएको नेपाली व्यवसायीको आरोप छ । त्यस्तो केमिकलले मानिसको स्वास्थ्यमा गम्भिर असर गर्ने र क्यान्सर रोग लाग्ने जोखिम भएपनि सस्तो पर्ने भएकाले नेपाली उपभोक्ताले भारतीय माछा उपभोग गर्न रुचाउँछन् ।











