चितवन । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले माओवादी आन्दोलनलाई कमजोर पार्न देशी–विदेशी शक्ति लागि परेको बताएकी छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चितवनको १०औँ जिल्ला भेलालाई सम्बोधन गर्दै उनले माओवादी पार्टीका विरोधी, प्रतिक्रियावादी, वर्ग वैरीहरुबाट माओवादी आन्दोलनलाई कमजोर बनाउन प्रहार गर्ने क्रम चलिरहेको उल्लेख गरिन्।
नेकपा माओवादी केन्द्र चितवनको जिल्ला इन्चार्ज र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय महासचिव समेत रहेकी दाहालले केही दिनअघि माओवादी परित्याग गरी एमाले प्रवेश गरेका यमबहादुर परियार इन्द्रजीत देशी–विदेशी शक्तिको चङगुलमा परेर पार्टीबाट पलायन भएको आरोप लगाइन् ।
माओवादीको लामो समय जिल्लाको नेतृत्व सम्हालेका परियार परिवर्तनको विरोधी पार्टीको कित्ता पुगेको कुरा आश्चार्य लागेको दाहालको भनाई थियो । नेता दाहालले परियारलाई २०६४ को संघिय सांसदको टिकट, राज्यमन्त्री सरहको मध्यवर्ती संस्थाको नेतृत्व र पटक–पटक जिल्लाको नेतृत्व गर्न पाउँदा पाउदै एमाले प्रवेश गर्नु दुःखद विषय भएको उल्लेख गरिन् ।
परियार एमाले प्रवेश गरेसँगै पहिलो पटक यस विषयमा बोलेकी दाहालले पार्टीले प्रदेश सांसद र समानुपातिक सांसदको लागि सिफारिस गरेपनि परियार ठूलो प्रलोभनमा परेर निर्वाचनअघि पार्टी परित्याग गरेको आरोप लगाइन् । नेता दाहालले यम बहादुर परियारलाई इन्द्रजीत बनाउन पार्टीले र जनताले ठूलो लगानी गर्नु परेको उनको भनाई थियो । विगतमा पनि पार्टी परित्याग गरी अन्य पार्टीमा गएपनि पुनः पुरानै पार्टीमा फर्किएर आउने क्रम पनि रहेको उनले बताइन् ।
मंसिर ४ गते हुने संघिय निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ३० हजार बढी मतले विजयी गराउने गरी मैदानमा उत्रन महिला कार्यकर्तालाई उनले आग्रह पनि गरिन् । चितवनवासीको माग अध्यक्ष प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ बाटै निर्वाचित हुनु होस् भन्ने रहेकाले महिलाहरु चुनावीमोर्चामा अगाडि बढ्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्य सुवेदी पथिक, वागतमी प्रदेशका श्रम तथा रोजगारीमन्त्री घनश्याम दाहाल, प्रदेश सांसद कञ्चन खनाल, पार्टीका प्रदेश कोषाध्यक्ष संगिता भट्टराई, नेता निशा न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।












