काठमाडौँ । निर्वाचन आयोगले समयमै निर्वाचन खर्चको विवरण नबुझाएको भन्दै काठमाडौँ र भरतपुर महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरलाई जरिवाना तिराउने निर्णय गरेको छ । आयागेले निर्वाचन खर्चको विवरण समयमै पेस नगर्ने एक लाख २३ हजार ६२४ उमेदवारलाई जरिवाना गर्ने निर्णय गरेको हो ।
आयोगले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई जनही साढे सात लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । त्यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई साढे पाँच लाख रुपैयाँ जरिवाना तिराउने आयोगले निर्णय गरेको छ ।
निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र उमेदवारहरुले सम्बन्धित निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । काठमाडौँ र भरतपुरसहित पोखरा, विराटनगर र वीरगञ्ज महानगरका प्रमुखले समय सिमा भित्र निर्वाचन खर्चको विवरण पेश गरेका थिएनन् । भरतपुरका उपमेयर चित्रसेन अधिकारी र काठमाडौँकी उपमेयर सुनिता डंगोलले पनि निर्वाचन खर्च पेश नगरेको आयोगले जनाएको छ । अबको छ महिनाभित्र जरिवाना नतिरे त्यस्ता जनप्रतिनिधिको पद स्वतः जाने आयोगले जनाएको छ ।
निर्वाचन आयोगको प्रेस विज्ञप्ति
https://election.gov.np/admin/public//storage/HoR/Press%20release/Press2_2079_5_31.pdf











