चितवन । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलबाट त्रिशुली नदीमा हाम फालेका एक व्यक्ति बेपत्ता भएका छन् । दोलखा जिल्ला गैरिमुदी–९ बस्ने वर्ष २७ को निराजन घिमिरे आज बेलुका करिब ५ः२५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिनको पुरानो पुलमा बा प्र ०२–०३१ प ५२१४ नम्बरको मोटरसाइकल रोकेर नदीमा हाम फालेका हुन् ।
उनले पुलमा मोटरसाइकलमाथि झोला राखेर हाम फालेको र झोलाभित्र भएको लाइसेन्सको आधारमा बेपत्ता भएका व्यक्तिको पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बेपत्ता भएका व्यक्तिको खोजी गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ । हिजो पनि नारायणी पुलबाट नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका थिए ।












