चितवन । प्रतिनिधि सभाको निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं ३ बाट चुनाव लड्ने चन्द्र विलास अधिकारीले घोषणा गरेका छन् । भरतपुर महानगरपालिका–१२ का अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी मंसिर ४ गते हुने निर्वाचनमा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यको लागि उमेदवारी दिने घोषणा गरेका हुन् ।
सत्ता गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री समेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड क्षेत्र नं ३ बाट चुनाव लड्दै छन् । बलियो उमेदवार मानिएका प्रचण्डसँग भिड्ने अधिकारीले बताएका छन् । आफुले जनताले बोल्ने एजेण्डा लिएकाले यस पटक प्रतिनिधि सभा सदस्यको निर्वाचन आफुले जित्ने उनले दाबी गरे ।
उनले अबको नेतृत्व युवाले लिनुपर्ने, हरेक क्षेत्रमा भएको राजनीतिक दलको सिन्डिकेट हटाउनुपर्ने, सरकारी गुणस्तरीय शिक्षामा हरेक नागरिकको पहुँच हुनुपर्ने बताए । त्यस्तै, सरकारी स्वास्थ्य संस्थाको स्तरोन्नती र निःशुल्क सेवा, गुणस्तरीय र दिगो विकास निर्माण, सरकारी तथा सामाजिक संघसंस्थामा पार्टीगत गुटबन्दी र भातृ संगठन खारेज, दक्ष जनशक्ति उत्पादन र जनतामुखि नीति नियमको निर्माणलाई उनले आफ्नो एजेण्डा भनेका छन् ।
त्यस्तै, देशको आर्थिक विकासका लागि एक जिल्ला एक मेघा कृषि फार्म र कृषिमा आधुनिकीकरण र सरकारी कार्यालयमा आर्थिक कारोबारको डिजिटलाइजेशन गर्ने योजना लिएका छन् । रेष्टुरेण्ट र शैक्षिक परामर्श सम्बन्धि व्यवसाय गर्दै आएका अधिकारीले जनताले दिने सुझावलाई थप एजेण्डा बनाएर लैजाने बताए । उनले तीन वर्ष कतारमा रोजगार गरेपछि स्वदेश आएर आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन् ।











