–सुनिता सुवेदी
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो सात वर्षमा २२० वटा गैँडाको मृत्यु भएको छ ।
निकुञ्जका सहायक संरक्षक अधिकृत एवम् सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि चालु आव २०७९/८० को चैत मसान्तसम्म सबैभन्दा बढि प्राकृतिक कारणले १५४ वटा गैँडाको मृत्यु भएको छ ।
प्राकृतिक कारण मध्ये बुढो भएर, भिरबाट लडेर ६४ वटा, आपसमा जुधेर ५१ वटा, बाघको आक्रमणबाट २० वटा र दलदल/भासीमा परेर एवम् बाढीले बगाएर १९ वटा गैँडाको मृत्यु भएको निकुञ्जको तथ्यांक छ ।
त्यस्तै विरामी तथा रोगी भएर १२ वटा गैँडा, सम्भावित चोरी शिकारबाट ९ वटा, विद्युतीय करेन्टबाट ८ वटा, विषले ५ वटा र खाडलमा परेर ३ वटा गैँडाको मृत्यु भएको तिवारीले जानकारी दिए ।
सात वर्षको अवधिमा सबैभन्दा बढि आव २०७५/७६ मा ४३ वटा गैँडा मरेका थिए । आव २०७२/७३ मा सबैभन्दा थोरै १४ वटा गैँडाको मृत्यु भएको तिवारीले जानकारी दिए । उनका अनुसार आव २०७३/७४ मा २५ वटा, २०७४/७५मा २६, २०७६/७७ मा २६, २०७७/७८ मा ३३, २०७८/७९ मा ३७ र चालु आव २०७९/८० को हालसम्म १६ वटा गैँडाको मृत्यु भएको छ ।
मृत्यु हुने मध्ये सबैभन्दा बढि १०० वटा भाले गैँडा, ७६ वटा पोथी गैँडा र ४४ वटा मृत गैँडाको पहिचान हुन नसकेको तिवारीले बताए ।












