इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको नाममा भइरहेको विरोध आतंककारी क्रियाकलाप र उद्दण्डता भएको बताएका छन्। उनले असन्तुष्ट पक्षको आन्दोलनको कुनै औचित्य नभएको समेत बताए।
इलाम सदरमुकाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले दुई तिहाइ ल्याएर नाम परिवर्तन गर्न समेत सुझाए।
‘प्रदेशको नाम एउटा प्रक्रियाबाट टुंगिएको हो। परिवर्तन गर्ने हो भने भोट जित्नुस्, दुई तिहाइ ल्याउनुस्, परिवर्तन गर्नुस्। हामी मान्छौं’, उनले भने, ‘यो नाम सबै दलले दुई तिहाइभन्दा बढी मतले पास भएको हो।’ ओलीले १ नम्बर प्रदेशको नाम ‘कोशी’ले सबै जातजाति, भाषा, धर्म, क्षेत्र एकै ठाउँमा समेटेको जिकिर गरे।
ओली इलामको कन्यामबाट सदरमुकाम जाँदा मेची राजमार्गको गोदक खण्डमा आन्दोलनकारीले रूख ढालेर बाटो अवरोध गरेका थिए। ओली अवरोध चिर्दै इलाम बजार पुग्दा समेत उनलाई कालो झण्डा देखाइएको थियो।
कालो झण्डा देखाउने ९ जना पक्राउ
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाम सदरमुकाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न आएका ओलीलाई इलामचोक बजारमा कालो झण्डा देखाएका हुन्।
प्रदर्शनकारीले प्रदेशको नाम ‘कोशी’ भएकोमा विरोध जनाउँदै ओलीसहित उनीसँगै आएका इलाम क्षेत्र २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङका अघि प्रदर्शन गरेका हुन्












