कुलप्रसाद काफ्ले
भरतपुर । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले निर्वाचित भए । वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत ल्याएर निर्वाचित भए ।
निर्वाचित भएपछि लामिछानेले मतदातालाई धन्यवाद दिएका छन् । मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले लामिछानेलाई निर्वाचित भएको घोषणा गरी प्रमाणपत्र दिएपछि उनी गेष्ट हाउस चौरमा आयोजित सभामा पुगेर धन्यवाद दिएका हुन् ।

लामिछानेलाई हेर्नको लागि उनको समर्थकको ठूलो भिड लागेको थियो । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा भएको मतगणना स्थलबाट गेस्ट हाउस चौरसम्म पुग्न उनलाई हम्मे हम्मे परेको थियो ।
धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले २०८४ सालमा रास्वपाले आफ्नै सरकार बनाउने बताए । ‘आगामी चुनावसम्म घण्टीको आवाज टोल–टोलमा, बस्ती–बस्तीमा पुग्ने छ’, उनले भने ।
















