भरतपुर। जिल्ला निर्वाचन कार्यालय चितवनले क्षेत्र नं २ मा सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम आज विहिबार समापन हुँदैछ ।
आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो । वैशाख १ गते सुरु भएको मतदाता शिक्षा कार्यक्रमका लागि प्रत्येक वडामा दुई जनाका दरले स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको थियो।
चितवन–२ मा भरतपुर महानगरका १० वटा, कालिका नगरपालिकाका ११ वटा र इच्छाकामना गाउँपालिकाका सातवटा वडा पर्छन् । तीन पालिकाका जम्मा २८ वडामा ५६ जना स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । मतदाताको घरदैलोमा पुगेर स्वास्थ्य स्वयम्सेविकाले मत बदर नहुने गरी मतदान गर्ने उचित तरिका सिकाउने गरेको उनले बताए ।
निर्वाचन आयोगले प्रत्येक ५ मतदातालाई एउटा नमुना मतपत्र पुग्ने गरी उपलब्ध गराएको छ । मतदाता शिक्षा कार्यक्रममा खटिएका स्वयम्सेविकालाई सम्बन्धित स्थानीय तहले पारिश्रमिक उपलब्ध गराउने कार्कीले बताए । एक जना स्वयम्सेविकाले प्रतिदिन एक हजार रुपैयाँ भत्ता पाउनेछन् ।
वैशाख १० गते हुने मतदानका लागि आयोगले मतपत्र पनि पठाइसकेको छ । चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । मतदाताको संख्याभन्दा करिब १० प्रतिशत बढी मतपत्र आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए । ‘प्याकिङ भएर आएको मतपत्रमा केही च्यातिएको र मसी दलिएको हुन सक्ने भएकाले आयोगले १० प्रतिशत बढी मतपत्र पठाएको हो’, उनले भने ।
पालिकाअनुसार हेर्दा कालिकामा ३२ हजार २४१, इच्छाकामनामा १५ हजार ६२० र भरतपुरका १० वटा वडामा ७६ हजार ८३४ मतदाता छन् । उपनिर्वाचनमा ४३ वटा मतदानस्थल र त्यसअन्तर्गत १३८ वटा मतदान केन्द्र रहने निर्वाचन कार्यालयका सूचना अधिकारी अमबहादुर पुर्जाले जानकारी दिए ।











